काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री डा. महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन ।’
अर्थमन्त्री डा. महतले भने, ‘यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ । अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पु¥याउँछ । यो निर्माण सम्पन्न हुनका लागि हामीले केही वर्ष पर्खिनु पर्ने हुन्छ ।’
धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको भन्दै उनले धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि सकेको बजेट विनियोजन गरेको बताए ।
‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पुर्याउने प्रयास गरेका छौं’ मन्त्री डा. महतले भने ।
Discussion about this post