काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् ।
आ. व. २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताएका हुन् ।
संसदमा उठेका विषयमा जवाफ दिँदै उनले भने ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पूँजीगत खर्च नै हो ।’
कम्तिमा १ करोड घटिको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै भएको उनले प्रष्ट पारे ।
‘माननीयले त सिफारिस मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’, उनले भने । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाई थियो ।
अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए ।
यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तिमा १ करोड विनियोजन भएको छ । सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमकाा लागि ८ अर्ब २५ करोड विनियोजन गरेका थिए ।
Discussion about this post