काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको पक्षमा मंगलबार बहस हुँदैछ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी छ।
हिजो सोमबारको अदालती समय सकिँदा पक्राउ परेका १८ जनामध्ये पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित ६ जना प्रतिवादीका कानुन व्यवसायीको बहस बाँकी रहेको थियो। सोही बहस आज हुन लागेको हो।
आज बहस हुन लागेका ६ जनामा खाणसहित पूर्वसांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजाल रहेका छन्। जिल्ला अदालत काठमाडौँका अनुसार हिजो गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो।
मंगलबार खाणको पक्षमा बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन्। खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन्।
काठमाडौँका जिल्ला प्रेमप्रसाद न्यौपानेले थुनछेक बहस ९ दिनमा सक्ने गरी समय निर्धारण गरेका थिए। जसअनुसार उनले सरकारी वकिल तथा पीडितका कानुन व्यवसायीलाई ३ दिनको समय दिएका थिए। प्रतिवादी पक्षका कानुन व्यवसायीका लागि ६ दिनको समय दिएका दिए।
न्यायाधीश न्यौपानेले निर्धारण गरेको समयअनुसार बहस भए मंगलबार प्रतिवादीका पक्षको प्रतिरक्षा बहस सकिनुपर्ने हो। मंगलबार प्रतिरक्षा बहस सकिएमा बुधबार सरकारी पक्षबाट जवाफी बहस हुने जनाइएको छ। गत बुधबारदेखि प्रतिवादीहरूको तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन्।
Discussion about this post