विराटनगर । कोशी प्रदेश सरकार र नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरबीच आज सोमबार भएको पहिलो चरणको वार्तामा कुनै निष्कर्ष निस्कन सकेन । दुवै पक्षबीच फेरि वार्ता गरिने भएको छ ।
प्रदेश राजधानी विराटनगरस्थित बिग होटलमा भएको वार्तामा ४ घण्टा छलफल भएको थियो ।
प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् ।
कोशी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन हुन थालेपछि सरकारले वार्ताको आह्वान गरेको थियो ।
प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलनरत पहिचानवादीसँग सरकारले पहिलोपटक औपचारिक वार्ता गरेको हो ।
वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिँचाई खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी भएका थिए ।
आन्दोलनकारीका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी थिए ।
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति घोषणा गरेर पहिचान पक्षधर आन्दोलित छन् । विराटनगर केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले राजनीतिक दलका शीर्ष नेता तथा कोसीको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा रोक लगाउने गरिरहेका छन् ।
पहिचान पक्षधर वार्ता टोली सदस्य रामभक्त कुरुङबाङले फेरि बस्ने सहमति गरेर पहिलो चरणको वार्ता सम्पन्न गरिएको जानकारी दिए । उनले सरकारसँग वार्ता प्रारम्भ भएको र छलफल सकारात्मक दिशामा अघि बढेको बताए । वार्तामार्फत् नै समस्याको समाधान गरेर अघि बढ्ने निस्कर्ष निकालिएको कुरुङबाङको भनाइ छ ।
पहिलो चरणको वार्ता सकिएपछि दुवै पक्षले वार्ताको सुरुवात र छलफल सौहार्दपूर्ण तरिकाले भएको उल्लेख गरे । फेरि वार्तामार्फत नै अघि बढ्ने र दुवै पक्षको आपसी सल्लाह एवं सहमतिमा मिति तय गरिने जनाइएको छ ।
Discussion about this post