विराटनगर । बाढी र पहिरोमा परी पूर्वी पहाडी जिल्लामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बेपत्ता भएका विभिन्न स्थानका गरी २७ जना अझै फेला पर्न सकेका छैनन् ।
ताप्लेजुङ र पाँचथरमा ३–३, संखुवासभामा २ र भोजपुरमा १ जनाको मृत्यु भएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–१० निगुरेमा सोमबार साँझ १ जना पुरुषको शव फेला परेको थियो । सुपर हेंवा हाइड्रोपावरबाट बेपत्ता भएका पुरुषको शव भेटिएको हो । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । संखुवासभामा हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–४ की ८ वर्षीया जुना साउदेन, फिदिम नगरपालिका–११ घर भइ माउण्टेन ‘बी’ हाइड्रोमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २८ वर्षीय हेमराज भनिने संजोग लिम्बू र २५ वर्षीया एलिसा माझी छन् ।
यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ का ३० वर्षीय गणेश तामाङ, मुखुभन्ज्याङका ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राईको पनि मृत्यु भएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राई र संखुवासभाको पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोमा परेर संखुवासभामा २१, पाँचथर र ताप्लेजुङमा ३–३ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी राखिएको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए ।
नेपाली सेनाको टोलीले पहिरोमा फसेकामध्ये पाँचथरबाट १२ र ताप्लेजुङबाट १ जनाको उद्धार गरेको छ । बाढी पहिरोमा परी संखुवासभामा ३, ताप्लेजुङमा २ र पाँचथरमा १ जना घाइते भएका छन् ।
हालसम्म १ सय ६३ परिवार विस्थापित बनेका छन् । ताप्लेजुङमा ८०, पाँचथरमा ६८ र संखुवासभामा १५ परिवार विस्थापित भएको तथ्यांक मन्त्रालयसँग छ । संखुवासभामा २४, पाँचथरमा १०, ताप्लेजुङमा ६ र इलाममा ३ वटा घर भत्किएर क्षति भएको छ ।
४ जिल्लाका १६ वटा सडक अवरुद्ध बनेका छन् । पाँचथरमा ६, ताप्लेजुङमा ४, इलाम र संखुवासभामा ३–३ वटा सडक अवरुद्ध बनेका हुन् । पाँचथरमा १५, संखुवासभामा ६ र ताप्लेजुङमा २ वटा पुल क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ । संखुवासभामा ८, पाँचथरमा ३ र ताप्लेजुङमा २ वटा हाइड्रो पावरमा क्षति पुगेको छ ।
Discussion about this post