काठमाडौं । अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ ।
संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख छ ।
नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत संघले जनाएको छ ।
राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।
उच्च अदालत पाटनले बिहीबार काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध संघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । सेन्सर बोर्डले पास गरेका फिल्मलाई प्रदर्शनमा रोक नलगाउन भन्दै अदालतले आदिपुरुष प्रदर्शनको बाटो समेत खुला गरिदिएको थियो ।
Discussion about this post