इटहरी । फेसबुक चलाइरहेका बेला अपरिचित युवाबाट ‘इटहरी–१’ (परिवर्तित नाम) लाई साथी बन्न प्रस्ताव आउँछ । उनले प्रस्तावलाई स्वीकार्छिन् ।
उनीहरुबीच कुराकानी अघि बढ्न थाल्छ । दुवैले अडियो, भिडियोमार्फत् कुरा अघि बढाउँछन् । सञ्जालकै माध्यमबाट प्रेम सम्बन्धमा पुग्छन् । फेसबुकमा जोडिएको ३ महिनामै उनीहरु ‘एकअर्काबीच बाँच्न नसक्ने अवस्थामा’ पुग्छन् ।
युवाले शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि युवतीले इन्कार गर्छिन् । त्यसयता सम्बन्ध बिग्रन्छ । एकअर्काप्रति अविश्वास बढ्न थाल्छ । आफ्नो प्रस्ताव अस्वीकार गरेको निहुँमा युवकले युवतीलाई मानसिक यातना दिन सुरु गर्छन् । युवती ‘ह्यारासमेन्ट’ को सिकार बन्न पुग्छिन् ।
मायाको नाटक गरेर युवतीलाई त्यस्तो गर्ने युवा हुन्, सिराहाका टोपेन थारु । भारतको हैदराबाद बस्ने थारुले युवतीलाई मानसिक ३ महिनायता लगातार मानसिक तनाव दिइरहेका छन् ।
सामाजिक सञ्जालको प्रयोग गर्दै उनले युवतीलाईसंवेदनशील अङ्ग देखाउन लगाएका थिए । युवतीले पनि आफ्नो प्रेमी हो भन्ने विश्वासमा उनले भनेको मानेकी थिइन् ।
सम्बन्ध बिग्रिएपछि युवतीका संवेदनशील अङ्गका फोटो युवकले युवतीका आफन्त र साथीभाईलाई पठाइदिएका छन् । २० वर्षीय युवती विछिप्त बनेकी छन् ।
‘मायाजालमा परेर अङ्ग देखाएँ अहिले मर्नु न बाँच्नु पारेको छ, पीडित युवती भन्छिन् ‘आफन्त र साथीलाई भिडियो पठाइदिने, नयाँ नयाँ फेसबुक आइडीबाट बोलाउने नबोलाए भिडियो पठाउने गरिरहेका छन् ।’
आफूलाई परेको समस्याबारे घरपरिवार, साथीभाईलाई सुनाएकी छन् । उनले इलाका प्रहरी कार्यालय इटहरीमा थारुविरुद्ध किटानी जाहेरी समेत दिएकी छन् । तर प्रहरीले पीडकलाई पक्राउ गरी पीडितलाई न्याय दिन सकेको छैन ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव काफ्ले पीडक भारतमा भएकाले पक्राउ गर्न नसकिएको बताउँछन् । साइबर क्राइमको मुद्दा काठमाडौंले हेर्ने गरेको बताउँदै यहाँबाट पक्राउ गर्न नसकिने उनको भनाई छ ।
‘हामीले उजुरी लिएर केन्द्रमा पठाएका छौं’ काफ्लले भने ‘साइबर क्राइमको मुद्दामा इलाकाले कारबाही गर्न सक्दैन ।’
Discussion about this post