काठमाडौ. । नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागको सोमबार बसेको बैठकले पार्टीले सरकारमा रहँदा गरेका राम्रा कामहरुको सन्देश जनसमक्ष पुर्याउने निर्णय गरेको छ ।
बैठकमा उपस्थित ३५ जना सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए ।
नेपाली कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुयाउने निर्णय पनि गरिएको छ ।
पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने बैठकको निर्णय छ ।
विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा सञ्चालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राखिने भएको छ ।
विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमताअनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गरिने भएको छ ।
विभागको आफ्नै वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने र हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरुलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने निर्णय भएको जनाइएको छ । त्यसपछि पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याइने भएको छ ।
विभागको कामलाई प्रभावकारी बनाउन विभिन्न निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने भएको छ ।
निर्देशिका मस्यौदा समितिमा संयोजक दिपकप्रसाद कुईँकेल र सदस्यहरु गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ् र निमग हुमागाई तोकिएका छन् ।
यसैगरी, कार्ययोजना तर्जुमा समितिमा समितिमा संयोजक गोपालकुमार र सदस्यहरु तिलक राई, उमिद वागचन, ई हुकम बुढा, विष्णु तिम्सिना, ई. राघव गौतम र रम्मा मिश्र छन् ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको सोमबार परेको शताब्दीऔं जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धासुमन व्यक्त गरिएको छ ।
यसैगरी, गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुज्यूहरुप्रति हार्दिक सम्मान व्यक्त गरिएको जनाइएको छ ।
बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद ज्ञापन गरेको थियो ।
विभागका प्रमुख मीनबहादुर विश्वकमाको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
Discussion about this post