काठमाडौँ । संघीय सरकारबाट निकासा हुनुपर्ने अनुदानको पैसा नपाएपछि गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले आन्दोलनको चेतावनी दिएका छन् ।
अर्थमन्त्रीलाई पत्र पठाउँदै अनुदान निकासा नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका हुन् ।
प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्तीय समानीकरण अनुदानमध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम निकासा भएप नि बाँकी ५० प्रतिशत रकम निकासा नभएको उनीहरुको भनाइ छ ।
अनुदान तत्काल निकासा गर्न माग गर्दै नेपाल गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले बुधवार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पत्र बुझाएका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त पत्र लेख्दै तत्काल बाँकी रकम निकासा गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
सरकारले स्रोत अभावलाई देखाउँदै कुल अनुदानको ५० प्रतिशत मात्र निकास गरेर बाँकी ५० प्रतिशत अनुदान रोक्का गरेको थियो ।
बाँकी ५० प्रतिशत रकम फुकुवाको लागि संघ र महासंघले पटक पटक अनुरोध गरे पनि हालसम्म उक्त रकम निकासा फुकुवा नभएकोले अर्थमन्त्रीको ध्यानाकर्षण गर्नुपरेको जनाइएको छ ।
Discussion about this post