विराटनगर । नेपाल विद्यार्थी संघको कार्यकर्ताका रुपमा राजनीतिमा प्रवेश गरी पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएर पछिल्लो पटक प्रदेश समिति सभापति रहेका उद्धव थापा कोशी प्रदेशको पाचौँ मुख्यमन्त्री बनेका छन् ।
माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साथ छाड्दा एमाले नेतृत्वको सरकारले विश्वासको मत गुमाएपछि हिक्मतकुमार कार्की सरकारबाट बाहिरिने अवस्था आएको हो ।
सत्तारुढ गठबन्धनको साथ र समर्थनमा कोशी प्रदेशको पाचौँ मुख्यमन्त्रीका रुपमा मौका पाएका थापा पार्टीमा कुशल संगठक र सबैलाई समेट्नुपर्छ भन्ने भावना भएका नेता मानिन्छन् ।
२०३४ सालतिर काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघ इकाईमार्फत् राजनैतिक जीवन सुरु गरेका थापा प्रदेश समिति सभापति हुँदै कोशी प्रदेशको मुख्य मन्त्रीको जिम्मेवारीमा आएका छन् ।
२०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका वीपी कोइरालाको सुरक्षा दस्तामा समेत थिए ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा लागेका थापाले प्रजातन्त्र पुनस्थापनापछि नेपाली काँग्रेस झापा, अर्जुनधारा गाउँसमितिको सचिव र सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हालेका थिए ।
त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थापाले दुई पटक संसदीय निर्वाचनका लागि उम्मेदवार पनि बनेका थिए ।
२०६१ माग १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही शासन सत्ता हातमा लिएपछि राजाको प्रजातन्त्र अपहरण गर्नें कार्यको कडा रुपमा विरोध जनाउँदै आन्दोलनमा होमिएका थिए ।
आन्दोलनमा सक्रिय भएर लाग्दा तत्कालीन शाही नेपाली सेनाको मातहातमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर थापालाई झापाको चारआलीस्थित सैनिक व्यारेकमा सैन्य हिरासतमा राखिएको थियो ।
वाणिज्यशास्त्रमा स्नातक गरेका थापाले झापामा संगठनलाई विस्तारका लागि महत्वपूर्ण काम गरेका थिए ।
Discussion about this post