काठमाडौं । भारतको सिमलामा पहिरोमा परी ३ जना नेपालीको मृत्यु भएको छ ।
रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी मृत्यु भएको हो ।
त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भीमा ओली तथा उनका १७ वर्षीय छोरा मोहनको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा मृत्यु भएको हो ।
सोमबार बिहान ११ बजेतिर एक्कासि पहिरो आएपछि घरमा बसिरहेका उनीहरुको मृत्यु भएको जनाइएको छ ।
एक वर्षअघि मजदुरी गर्न भारत गएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा गएको आफन्तले बताएका छन् ।
उनीहरुको शव घर ल्याउने तयारी भइरहेको भए पनि घटनास्थलमा पहिरोका कारण बाटो नभएकाले गाह्रो परेको परिवारले जनाएका छन् ।
Discussion about this post