काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् ।
पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए ।
‘कतिले अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरुले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो । हाम्रा धर्मशास्त्र, संस्कृतिहरु पनि पुराना हुन् । यो देश आफैँमा पनि पुरानो हो’ महामन्त्री शर्माले भने, ‘पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन । हामीले बिर्सिनु हुँदैन । निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन ।’
शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताए । उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई नवीन बनाउने क्रम शुरु हुने बताए ।
‘नेपाली कांग्रेस पार्टी आज अझै बलियो बन्नुपर्नेछ । नेपाली कांग्रेस पार्टी विगतमा भन्दा अझै परिपक्व, अझै संयमित र अझै एकतावद्ध बन्नुपर्ने बेला छ’ उनले भने, ‘त्यसैले सबै साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु । नेपाली कांग्रेसको साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्छ । राष्ट्रव्यापी रुपमा अभियान घोषणा गर्छ । विभाग गठनको प्रक्रिया शुरु गर्छ, त्यो पुरानो दललाई तरोताजकी बनाएर नवीन बनाउने क्रम शुरु गर्छ ।’
Discussion about this post