काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै करिब सय किलो सुन बाहिरिएको घटनापछि भन्सारको जाँच र निगरानीमा आशंका उब्जिएको छ । हङकङबाट ल्याइएको सुन विमानस्थल भन्सार हुँदै काठमाडौंको सिनामंगल पुर्याइएको थियो ।
राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलमा सुन बरामद गरेपछि सुन तस्करीबारे खुलेको हो । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा सुन ल्याइएको थियो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको जनाएका छन् । अनुसन्धान भइरहेको भन्दै विभागले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
आठवटा कार्टुन बाकसमा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । ब्रेक सुको आवरणमा सुन ल्याइएको हो ।
भन्सारमा यात्रुका र अरु लगेजको जाँच गर्ने उपकरणहरु प्रयोग गरिन्छ । तर त्यति ठूलो परिमाणमा ल्याइएको सुनबारे किन केही पत्ता लागेन र भन्सार पार गरिसकेर विमानस्थलबाट सुन बाहिरियो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौंको बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको रेडी ट्रेडर्स प्रालिका नाममा विमानस्थल भन्सारले जाँचपास गरेको थियो । तर राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेर त्यसबारे अध्ययन गरेको थियो ।
जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुईजना व्यक्ति सिनामंगलमा पक्राउ परेका थिए । त्यही क्रममा अरु तीनजना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा छन् । उनीहरु लाई विभागको हिरासतमा राखिएको छ ।
राजस्व अनुसन्धान विभागमा सुन तस्करीबारे पहिल्यै सूचना प्राप्त भएकाले विशेष टोलीले निगरानी गरिरहेको थियो ।
यसैबीच, विभागले बरामद भएको सुन र पक्राउ परेकाहरुबारे आज बिहीबार प्रारम्भिक जानकारी सार्वजनिक गर्ने भएको छ ।
तत्कालका लागि सुन भए, नभएको यकिन गर्न साथै तस्करीमा संलग्नहरुबारे विस्तृत जानकारी संकलन गर्ने उद्देश्यले घटनाबारे विस्तृतमा जानकारी सार्वजनिक नगरिएको विभागका अधिकारीहरुले जनाएका छन् ।
Discussion about this post