भैरहवा । चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले भने, ‘केन्द्रीय कमिटीको बैठकलाई यसपटक कांग्रेसले जनतासँग जोड्ने नयाँ प्रयोग गरेको छ ।’
प्रत्यक्ष प्रशारणको धेरै सकारात्मक प्रतिक्रिया आइरहेको उनले बताए । नेपाली कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो, तर प्रत्यक्ष प्रशारणसहितको बैठकले नेपाली कांग्रेसभित्रको यथार्थ स्थिति के भन्ने कुरा स्पष्ट भएको मन्त्री महतको भनाइ छ ।
‘केन्द्रीय समितिमा एकदमै सिर्जनात्मक छलफल भएको छ । व्यक्ति होइन, पार्टीलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्न सकिन्छ । र देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकूल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको छ’ उनले भने ।
छलफलमा चाँडै नीति अधिवेशन गर्ने प्रस्ताव रहेको भन्दै महतले विभिन्न राष्ट्रिय मुद्दामा पार्टीको आफ्नो दृष्टिकोण आउने बताए ।
Discussion about this post