विराटनगर । खोटाङ र तेह्रथुममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खोटाङमा ट्याक्टर र तेह्रथुममा मोटरसाइकल दुर्घटना भएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो ना ६ त २४६६ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । खोटाङबाट रसुवातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेर चालक खोटेहाङ–३ का २२ वर्षीय पवन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि सिम्पानी पोलिक्लिनिकमा भर्ना गरिएको थियो । थप उपचारका लागि एम्बुलेन्समार्फत धरानतर्फ ल्याउँदै गर्दा बाटैमा राति १० बजेतिर मृत्यु भएको हो ।
सडकबाट अन्दाजी ५० मिटर तल झरेर दुर्घटनामा परेको ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । चालककै लापरबाहीले दुर्घटना भएको प्राहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, पाँचथर–संक्रान्ति मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडामा बा ६८ प ५८३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज्यामिरेबाट संक्रान्ति हुँदै पाँचथरको फिदिमतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार दिउँसो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठराई–३ का अन्दाजी २५ वर्षीय नवीन थिङलावुको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारका लागि फिदिम अस्पताल पुर्याउनसाथ साँझ ५ः२० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१५ का अन्दाजी २६ वर्षीय सुरेन्द्र राई गम्भीर घाइते भएका छन् । राईको फिदिम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post