वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याएका छन् ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् ।
‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ’ उनले भने, ‘सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’
आन्तरिक रुपमा बहस हुनु र निष्कर्ष ननिस्केसम्म बहस हुनु राम्रो भएको भन्दै उनले तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्ने बताए ।
‘सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जानु हो’ नेता डा. महतले भने, ‘खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’
नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी नेपाली कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता डा. महतले भने, ‘काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो, तर हाम्रा नेता खराब भनेर हिँडिराख्ने हाम्रै साथीहरुलाई रोग लागेको छ । यसबाट हामी मुक्त हुनुपर्छ ।’
Discussion about this post