महिला विश्वकप फुटबलमा साविक विश्व विजेता अमेरिका प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ। अमेरिका महिला विश्वकप इतिहासमै पहिलो पटक मेडलविहीन भएर घर फर्किन लागेको हो। अमेरिका पछिल्ला ८ प्रतियोगितामध्ये ४ पटक च्याम्पियन बनेको थियो भने एक पटक उपविजेता र तीन पटक तेस्रो बनेको थियो।
आइतबार मेलवर्नमा भएको खेलमा अमेरिका स्विडेनसँग सडन डेथमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ स्विडेनले खेल ५-४ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा जापानसँगको भेट पक्का गर्याे।
खेल अवधिभर स्विडेन विरुद्ध अमेरिकाले दबाब बनाए पनि गोल गर्न सकेन। साविक च्याम्पियन अमेरिकाले खेलमा पकड बनाउँदै गोलका अवसरहरू सिर्जना गरेको थियो। उसले स्विडेनको पोस्टमा २१ सट प्रहार गर्दा ११ सट टार्गेटमा राखेको थियो। तर स्विडिस गोलरक्षक जेकिरा मुसोभिकले एकपछि अर्का उत्कृष्ट प्रहारहरु असफल बनाइन्। स्विडेनले भने १ मात्र सट टार्गेटमा राखेको थियो।
निर्धारित र अतिरिक्त समय रोमाञ्चक बनेको खेल पेनाल्टी सुटआउटमा पनि रोमाञ्चक रह्यो। अमेरिका दुइ पटकको जित्ने अवसर चुकाउँदा खेल सडन डेथमा पुगेको थियो। टाइब्रेकरमा दुबै टिमले ३-३ गोल गरेका थिए।
स्विडेनले सुरुवातमा लगातार दुई गोल गरेपछि लगातार दुई पेनाल्टी मिस गरेको थियो। अमेरिकाले पनि अन्तमा दुई पेनाल्टी मिस गर्दा टाइब्रेकरमा नै जित्ने अवसर गुमायो।
सडन डेथमा अमेरिकाकी केली माउरेन ओहराको प्रहार पोलमा लागेको थियो। स्विडेनका लागि निर्णायक मानिएको अवसरमा लिना हर्टीङ्गले गरेको प्रहार गोलरक्षकले वान टच क्लियर गर्न नसक्दा उनले पुन: क्लियरको प्रयास गरेकी थिइन् तर दोस्रो पटकको प्रयासमा उनले बल रोकेपनि बलले गोललाइन क्रस गरेसँगै स्विडेनले नाटकीय जितसहित अन्तिम आठमा स्थान बनायो।
Discussion about this post