विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहको एउटा गोठमा सोमबार बिहान आगलागी हुँदा दुई लाख रूपैयाँ बढीको क्षति भएको छ ।
प्रहरीका अनुसार सुकदेव मण्डलले बाख्रापालनका लागि बनाएको गोठमा बिहानका राति ३ः३० बजेतिर आगलागी भएको हो । आगोले कर्कट पाताको छानो भएको र बाँसको टाटीबेरा भएको एक तले गोठ जलेर पूर्ण रूपमा ध्वस्त भएको छ । खसीबाख्रा तथा पाठापाठी जलेर मरेका छन् ।
प्रहरीका अनुसार मण्डलले पालेका तीनवटा खसी, दुईवटा बाख्रा र दुईवटा पाठापाठी आगोले जलेर मरेका छन् । स्थानीयको सहयोगमा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले गोठ, गोठभित्र रहेका खसीबाख्रा तथा पाठापाठी, दाउरा र काठ जलेको छ । मानवीय क्षति भएको छैन । घटनामा दुई लाख २० हजार मूल्य बराबरको क्षति भएको जानकारी प्रहरीले दिएको छ ।
Discussion about this post