झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले आफूहरुलाई छड्के जाँच गर्न पठाएको बताएका छन् । पार्टी भित्रका बेमेल हटाएर एकबद्ध भइ अघि बढ्नुपर्ने दिन आएको भन्दै उनले अबका दिनमा पार्टीमा कुनै विवाद नहोस् भनेर सबै सचेत हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसको विशेष आन्तरिक अभियानअन्तर्गत झापा आएका उनले राजनीतिक दृष्टिले झापा उच्च सचेतना भएको जिल्लाका रुपमा स्थापित भएको बताए ।
राष्ट्रिय राजनीति र प्रदेश राजनीतिमा मुख्य प्रभाव भएको जिल्ला झापा रहेको उनको भनाइ थियो ।
नेपामा भएका ठूला परिवर्तनहरु नेपाली कांग्रेसको अगुगाइका कारण आएको भन्दै नेता विश्वकर्माले यसका उपलब्धि जोगाउने मुख्य जिम्मेवारी पनि कांग्रेसमा रहेको उल्लेख गरे ।
पछिल्ला दिन पार्टीमा एकताको कुरा अलि कमजोर भएकाले बजारमा नराम्रो हल्ला चलाइने गरेको भन्दै उनले अबका दिनमा सबैले गम्भीरताका साथ काम गरी यस्तो नकारात्मक अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
‘कांग्रेसप्रति गलत अफवाह फैलाइएको छ’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘यस्ता अफवाहलाई केन्द्रदेखि तल्लो तहसम्म सबै नेता कार्यकर्ता मिलेर चिर्नुपर्छ ।’
कांग्रेस कमजोर भए प्रजातन्त्र नै जोखिममा पर्ने उल्ल्ेख गर्दै उनले त्यही कारण कतिपयले कांग्रेसमाथि अनेक खाले कुरा गर्दै आक्रमण गरिरहेको बताए ।
अबका दिनमा जनतामा आशा जगाउने सन्देश दिन आवश्यक रहेको भन्दै नेता विश्वकर्माले कांग्रेसका पदमा पुगेका जिम्मेवार व्यक्तिहरु समेतले पार्टी प्रती आशा दिन नसकेको र नकारात्मक सन्देश दिएको भन्दै असन्तुष्टि जनाए ।
पार्टीको केन्द्रीय बैठकबाट जनताका पक्षमा काम गर्न ३२ बुँदे निर्णय भएको उनले बताए । कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ‘मिडिया फ्रेन्डली हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
पुराना राम्रा कामलाई अवलम्बन गर्दै नयाँ पनमा राजनीति अघि बढाउनु पर्ने उनको भनाइ थियो ।
पार्टीका टोलदेखि केन्द्रसम्म रहेका नेताहरुले सच्चिनुपर्ने भन्दै उनले सामाजिक सञ्जालको अधिकतम उपयोग गरेर आम जनतासम्म पार्टीका धारणा लैजान उनले आग्रह गरे ।
नेपाली काङ्ग्रेसको राजनीति ‘गेम’ जस्तो नभएर हिले ‘वार’ जस्तो भएको उल्लेख गर्दै उनले अब कि विधान परिवर्तन गर्नु पर्यो कि प्रवृत्ति परिवर्तन गर्नुपर्ने बेला आएकाले चुनौती थपिएको बताए ।
‘कांग्रेस सबैतिरबाट चुनौतीमा परेको छ’ उनले भने, ‘यी सारा चुनौतीलाई सामना गर्नका लागि मिहिन ढंगले अघि बढनु पर्ने बेला आएको छ ।’
उनले पार्टी अब झापाबाट उदाउने बताए । नेपाली काङ्ग्रेसको बिर्तामोडस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा जिल्ला सभापति देउमान थेबे, सचिव कृष्ण हुमागाइँ, प्रचार विभाग सदस्य लोकराज ढकाल, कोशी प्रदेश प्रतिनिधिहरु उत्तम चौलागाईं, किरण भट्टराई, रन्जु कार्की, भूमिराज राई, राजकुमार बराइली लगायतको उपस्थिति थियो ।
Discussion about this post