विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीबारे अन्तक्र्रिया गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेशको पाँच वटा स्थानीय तहका उद्यमीको सहभागिता थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका करिब २५ महिला उद्यमीहरु सहित ३५ जनाको सहभागिता रहेको थियो ।
सहभागी महिला उद्यमीहरुले उद्यमशीलताको लागि सूचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकास सम्बन्धी कार्यक्रमहरु पहुँचमा आधारित हुने र वास्तविक उद्यमीहरु उक्त अवसरबाट वञ्चित भएको बताएका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा प्रभाव न्यायोचित नभएको सबै उद्योग प्रतिष्ठानलाई एकै नजरले हेर्ने गरिएकाले पनि लघु तथा घरेलु उद्यमीहरु मर्कामा परेको उनीहरुले बताएका थिए ।
कार्यक्रममा सहभागीहरुले व्यावसायिक प्रवर्द्धनका लागि स्थापना भएका संघ संस्थामा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएको कारण महिला उद्यमीहरूको आवाज अहिलेसम्म बुलन्द हुन नसकेको कुरा बताएका थिए ।
कार्यक्रममा कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रा.लि.का डेप्यूटी टिम लिडर अनिरुद्र न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे प्रस्तुती दिएका थिए । कार्यक्रमका सभाध्यक्ष सरु केसीले सोच, सुचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने कुरा बताउदैं महिला उद्यमीहरुलाई व्यवसाय प्रबर्द्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदैव तयार रहेको बताएकी थिइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकाससम्बन्धी कार्यक्रम र सेवा प्रभाव सम्बन्धी जानकारी गराएका थिए ।
Discussion about this post