विराटनगर । कोशी प्रदेशमा नवनियुक्त मन्त्री निर्मला लिम्बूले शपथ ग्रहण गर्ने क्रममा संविधानको उल्लंघन गरेकी छन् । जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य लिम्बूलाई शुक्रबार मुख्यमन्त्री उद्धव थापाले स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन् ।
लिम्बूले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिइन् ।
प्रदेश प्रमुख खापुङले उनलाई ‘कोशी प्रदेशको मन्त्रीको कामकाज प्रचलित कानुनको अधिनमा रही गर्ने छु’ भनेर शपथ खुवाएका थिए । शपथग्रहणका क्रममा लिम्बूले ‘कोशी प्रदेश’ नै बाचन गरिन् । तर, पछि एउटा शब्द गल्ती रहेको भनेर उनी आफैंले पुनः दोस्रोपटक ‘कोशी’ का ठाउँमा ‘१ नम्बर प्रदेश’ बाचन गरेकी थिइन् ।
लिम्बूले शपथका अरु शब्द भने हुबहु बाचन गरिन् । विवादित शपथलाई मान्यता दिएको वा नदिएको विषयमा प्रदेश प्रमुखको कार्यालय मौन छ । शपथग्रहणमा मुख्यमन्त्री थापासहित उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु, प्रदेशको उपसभामुख सिर्जना दनुवारलगायत उपस्थित थिए ।
तोकिए अनुसार शपथ नगरेर मन्त्रीबाट संविधानको उल्लंघन भएको संवैधानिक कानुनका ज्ञाताहरुले बताएका छन् ।
Discussion about this post