सविता गौतम दाहाल
चुप लागेर घरमै बसिरहुँ
वा सवै भूलेर अघि बढुँ,
जे गरे पनि, म एउटा विषय
सुन्दरतम्– समाजको ।
रमाएर नाचुँ वा हासुँ,
भक्कानिएर रोउँ वा चिच्चाउँ,
क्रमशः म एउटा विषय
विद्वत–विमर्षको, भलाकुसारीको ।
उद्देश्यपर्ण जीवन,
एक्कासि विषय बन्नु
नियतिको नियमितता,
जो कतै कतै झल्किरहन्थ्यो
आज यो आँगनमा झल्कियो ।
जागरुक भएर अध्ययनशील बनी पढुँ
वा साहसी भएर रावण वा कंशसँग लडुँ
अब, म एउटा सटल विषय
परम्परागत–परिवेशको ।
व्यथाले मरुँ वा व्यायामको उज्यालो बाचुँ,
अदृश्य छन् अनुभूति
मेरो छेउको सिरानीमा
सधैँ हुने साथ छैनन्,
चुपचाप छ जीवन गति ।
जीवन–मोह–विद्रोह
सवै दूर–दूर छन्,
हुनुको झझल्को
कसले बुझ्छ धड्कन यो पलको ?
मुटु छिया छिया परेर चर्कन्छ,
अनेक भाव आफैलाई छलेर तर्कन्छ
कोरिन बाँकी कथा कहूँ वा चुपचाप सहुँ,
अब, म एउटा रोचक विषय
जीवनमय–जमघटको, खासखुसको ।
नटुंगिने चिन्ता हुँ, बाबा आमाको
सम्झिसक्दा मन दुख्ला, भाइ-दादाको
देखिसक्दा, कठै मेरी ! मुखबाट निस्केला,
मामाघरकी हजुरआमाको ।
प्रियजनलाई अनायास पोल्ने
आगो हुँ, झिल्का हुँ,
अब, म एउटा विषय-विन्दु हुँ ।
कोर्नेहरु त्यहीँबाट शुरु भएर
त्रिकोण, पटकोण, वृत्त
बनाउँदा हुन्,
कति त स्वयंसिद्ध तथ्य लगाएर
कतिकति गणित प्रमाणित गर्दा हुन् ।
कहीँ कतै रहुँ, वा छोडिउँ,
म एउटा सदाबहार विषय
समाजको, शास्त्रको, गणितको
सम्भवत:, भेटिने हरेक परिचित–पात्रको ।
Discussion about this post