विराटनगर । जिल्ला कारागार मोरङमा रासनवापत कैदीबन्दीका लागि उपलब्ध गराइएको चामल बेचिने गरेको आंशका गरिएको छ । कैदीबन्दीको चामल कर्मचारीकै मिलेमतोमा बेचिने गरेको आशंका गरिएको हो ।
यसबारे छानबिन सुरु गरिएको छ । कैदीबन्दीहरुले चौकीदार र कर्मचारीको मिलेमतोमा चामल बाहिर लगेर बिक्री गर्ने गरिएको गुनासो गरेका छन् । कारागारले कैदीबन्दीलाई सिदावापत प्रतिव्यक्ति दैनिक सात सय ग्राम चामल र ८० रूपैयाँ नगद उपलब्ध गराउँछ ।
१० दिनका लागि एकैपटक चामल वितरण गर्ने गरिएको छ । नेपाल खाद्य संस्थानबाट ल्याएर कान्छी मन्सुली (अरुवा) चामल कैदीबन्दीलाई उपलब्ध गराउने गरिएको हो ।
महिला र पुरुष गरेर तीन सय क्षमताको कारागारमा सोमबार एक हजार ५३ जना कैदीबन्दी रहेको जेलर कृष्ण खड्काले बताए । उनका अनुसार कारागारमा दैनिक सात सय किलोग्रामभन्दा बढी चामल खपत हुने गरेको छ ।
चामल चौकीदारको मातहतमा हुने गरी गोदामभित्र राखिन्छ । त्यहाँबाट निकालेर कर्मचारीकै मिलेमतोमा चामल बिक्री गर्ने गरिएको कैदीबन्दीको गुनासो छ । तर, केही कैदीबन्दीले कारागारले उपलब्ध गराएको नखाएर अर्को चामलको भात खाने तथा कसैले रोटीका लागि चामलसँग साटेर पिठो एवं फलफूलसमेत ल्याउने गरेको जेलर खड्का बताउँछन् ।
कैदीबन्दीका लागि भनेर उपलब्ध गराइएको चामल बजारमा बिक्री गर्ने गरेको आशंकामा छानबिन एवं अनुसन्धान अघि बढाइएको जेलर खड्काले बताए । प्रक्रिया पूरा नगरी गोदामबाट चामल बाहिर लैजान खोजेको पाइएपछि कर्मचारीको भूमिका शंकास्पद एवं विवादास्पद देखिएको उनको भनाइ छ । यस प्रकरणमा कारागारका कार्यालय सहयोगी शिवचरण सिंह मुछिएका छन् ।
करारमा कार्यरत सिंह कारागारका पुराना कर्मचारी हुन् । २० वर्षदेखि कारागारमा काम गरिरहेका उनको समयसमयमा करार नवीकरण हुने गरेको छ । राजनीतिक दबाबका आधारमा नियुक्ति लिएर २०६० सालदेखि काम गरिरहेका सिंह पटकपटक विवादमा आइरहने कर्मचारी हुन् ।
चौकीदार र केही कैदीबन्दीसँग मिलेर कारागारभित्र प्रतिबन्धित वस्तुसमेत पुर्याइदिने गरेको आरोप उनीमाथि छ । प्रतिबन्धित वस्तु ल्याइदिएवापत कैदीबन्दीसँग पैसा लिने गरेको कैद भुक्तान गरेर मुक्त भएका एकजनाले भने ।
कैदीबन्दी भेट्न कारागार आएका आफन्तलाई डर र त्रास देखाउँदै पैसा लिने गरेको र पैसा नदिए आफन्तसँग भेटघाट गर्न नदिने गरेको उनको भनाइ छ ।
उनका अनुसार कारागारमा कैदीबन्दीलाई खानाको प्रबन्ध गर्न सातवटा अलगअलग मेस छन् । एउटा मेसमा सय जनाभन्दा बढीले खाना खाने जानकारी उनले दिए । उनका अनुसार यसअघि कारागारभित्र सिंहले जे भन्यो त्यही हुन्थ्यो । चौकीदारसँगको मिलेमतोमा सिंहले चामल बिक्री गरिरहेको र आफूहरु भोकभोकै परेको गुनासो कैदीबन्दीले पटकपटक कारागार प्रशासनलाई गरेका थिए ।
प्रशासनलाई थाहा नदिइ चामल बाहिर लैजान खोजेपछि बिक्री गर्ने गरेको आशंकामा सिंहलाई जिम्मेवारीबाट हटाएर साउन २४ गतेबाट छानबिन अघि बढाइएको जेलर खड्काले बताए ।
सिंहले भने चामल बिक्री गर्नेलगायतका अवैध धन्दामा आफ्नो संलग्नता नरहेको बताएका छन् । आफू केही दिनदेखि बाहिर रहेको र कारागार जान नपाएको उनको भनाइ छ । प्रतिबन्धित वस्तु कारागार छिराउने कुरा आरोप मात्रै लगाइएको उनले दाबी गरे ।
विराटनगरमा रहेको बालसुधार गृहका लागि पनि मोरङ कारागारबाटै चामल उपलब्ध गराइन्छ । बालसुधार गृह र सट्टापट्टाका लागि भनेर बाहिर निकाल्दै चामल बिक्री गर्ने गरिएको कारागार स्रोतले बतायो ।
मोरङ कारागारमा अहिले सौगात आचार्य चौकीदार छन् । आचार्य अपराधिक पृष्ठभूमिका गुन्डानाइके अभिषेक गिरीका सालो रहेको कारागारले जनाएको छ । सजाय भुक्तान गरेर गिरी कैदमुक्त भएपछि उनले चौकीदारको जिम्मेवारी पाएको कारागारले जनाएको छ । त्यसअघि गिरी नै कारागारको चौकीदार थिए ।
Discussion about this post