धरान । धरानमा डेंगु संक्रमण बढिरहेको अवस्थामा नेकपा एमालेले ‘लार्भा सर्च, डिस्ट्रोय एण्ड स्प्रे’ अभियान सुरु गरेको छ ।
धरान उपमहानगरपालिकाले प्रभावकारी अभियान चलाउन नसकेपछि पार्टी अग्रसर भएको एमाले धरान अध्यक्ष हर्कजङ एभेङले जानकारी दिए । डेंगु पीडितलाई दोस्रो पटकसमेत संक्रमण पुष्टि हुन थालेपछि त्यसलाई निर्मूल गर्न अभियान चलाएको एभेङको भनाइ छ ।
धरान ८ स्थित सभागृहबाट सुरु भएको अभियान अन्तर्गत घर–घरमा पुगेर डेंगुको लार्भा मार्ने र वयस्क मच्छड मार्नका लागि स्प्रे गर्ने काम सुरु गरिएको छ ।
अभियानमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु, जनप्रतिनिधि, सांसद लगायत सहभागी छन् ।
विशेषज्ञसहितको अभियानमा विज्ञद्वारा सिफारिस गरिएको मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने औषधि प्रयोग गरी फगिङ र स्प्रे थालिएको धरान एमाले सचिव राजेन्द्र राईले जानकारी दिए ।
अभियान सुरु गर्नुपूर्व टोलीले नागरिकको घरमा पुगेर सचेतनामूलक पर्चा वितरण गरेको छ । वडा ८ बाट सुरु भएको अभियान धरानका २० वटै वडामा सम्पन्न गरिने एमाले अध्यक्ष एभेङको भनाइ छ ।
Discussion about this post