काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्ति संविधान विपरीत र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री दाहालको उक्त भनाइ आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उनले अभिव्यक्तिको निन्दा र भर्त्सनासमेत गरे । प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भड्काउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोपसमेत लगाए ।
‘मुलुकमा मिलेर बसेका दाजुभाइबीच आपसमा विद्वेष फैल्याउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सिर्जना गर्ने र मुलुकमा त्रासदीपूर्ण स्थिति सिर्जना गर्ने काममा स्वयम् प्रधानमन्त्रीले मलजल गर्ने काम गरिरहनुभएको छ,’ उनले भने, ‘देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाटै यसरी आपसी दाजुभाइहरुको बीचमा विद्वेष र घृणा फैल्याउने काम यो कुनैपनि हालतमा स्वीकार्य छैन । यसमा हामी गम्भीरतापूर्वक आपत्ति व्यक्त गर्न चाहन्छौं । र, यो भनाइको निन्दा पनि गर्न चाहन्छौँ ।’
Discussion about this post