काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज शुक्रबार हुँदैछ । पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन असर गर्ने काम नगर्न भनिएको थियो । त्यसपछि सरकार कामचलाउ रुपमा छ ।
सोही रिटमा सर्वोच्च अदालतमा अर्को पेशी आजका लागि तोकिएको छ ।
भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको भन्दै कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गर्दै रिट दायर गरेका थिए ।
थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए ।
विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भइरहेका बेला मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । मतदान र मत सच्याउने समय सकिएपछि मन्सुरीले सभाको अध्यक्षता गर्न तिम्सिनालाई बोलाएर आफू मतदान गर्न गएका थिए ।
उनीहरुले समेत दिएको मतको आधारमा थापाले ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्रदेशसभा सदस्य अर्थात ४७ जनाको समर्थन पाएका थिए ।
यसअघिको अदातलतको आदेशमा भनिएको थियो, ‘अध्यक्षता गर्ने सदस्यले दिएको मतसमेत गणना गरी श्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिवादिन सिद्धान्तसमेतको प्रतिकुल देखिन आयो ।’
यस आधारमा थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नमिल्ने भन्दै सर्वोच्चले भनेको थियो छ, ‘निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत रिट निवेदन उपरको सुनुवाइ टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत निर्णय नगर्नु नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ ।’
सर्वोच्चको यो आदेशसँगै कोशी सरकार कामचलाउ बनेको थियो । सर्वोच्चले १४ भदौभित्र मुख्यमन्त्री थापालाई लिखित जवाफ बुझाउन आदेश दिएको थियो ।
Discussion about this post