विराटनगर । विराटनगरमा ऐतिहासिक गौरवको राधाकृष्ण रथयात्रा आज बिहीबार निकालिँदै छ । यस अवसरमा कोशी प्रदेश सरकारले एक दिन सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकालिने रथयात्रामा हजारौं भक्तजनको सहभागिता हुने गरेको छ । राधा र कृष्णको प्रतीकात्मक युगल जोडीसहितको रथलाई विराटनगर बजार परिक्रम गराउने चलन छ ।
विराटनगर महानगरपालिका– १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३ बजे रथ निकालिने छ । रथयात्रालाई व्यवस्थित बनाउन ५ सयभन्दा बढी स्वयंसेवक परिचालन हुने छन् ।
राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले सबै तयारी पूरा भइसकेको बताए । २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ । भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ । दायाँतर्फबाट पुरुष तथा बायाँतर्फबाट महिलाले रथ तान्ने जानकारी रेग्मीले दिए ।
विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्रा समापन गरिने छ ।
विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए । विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने छ ।
रथयात्रामा नेपाल र भारतका करिब ६ लाख श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’बाट प्रारम्भ भएको रथयात्रालाई विराटनगरको एउटा उत्सव एवं पहिचानसँग जोडेर हेर्ने गरिएको छ । ‘खटयात्रा’ २०२५ सालदेखि रथयात्रामा रूपान्तरण भएको हो ।
यसैबीच, रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रथयात्रा मूल समारोह समितिले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई अनुरोध गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले अपराधिक घटना र अपराधिक प्रवृत्तिका मानिसबाट जोगिन सबै सचेत हुनुपर्ने बताए ।
प्रहरीले रथयात्रामा बहुमूल्य गहना लगाएर, बहुमूल्य सामान तथा अधिक नगद बोकेर सहभागी नहुन, रथयात्राको रुट निर्धारण भएको स्थानमा सवारीसाधन पार्किङ नगरिदिन, सीसी क्यामेरा र मानिसको निगरानी भएका ठाउँमा सवारीसाधनको सुरक्षित पार्किङ गर्न, बालिका लिएर रथयात्रामा सहभागी नहुन, वृद्धवृद्धालाई सहयोगीका साथमा मात्रै पठाउन, महिला तथा बालबालिकामाथि हुनसक्ने दुर्व्यवहारप्रति सजग रहन सबैमा आग्रह गरेको छ ।
Discussion about this post