काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देशमा अनिष्टको संकेत देखिएकाले गम्भीर बन्न सबैलाई अपिल गरेका छन् ।
हिजोका आन्दोलनकारी शक्ति र संविधान निर्माता नै पतन हुँदै जानु लोकतन्त्रका लागि ठूलो अनिष्टको संकेत भएको अध्यक्ष भट्टराईको भनाइ छ ।
शनिबार बिहान सामाजिक सञ्जालमा अपिल जारी गर्दै उनले नेपाली राजनीतिमा रक्षक नै भक्षक बन्ने परम्परा बस्न लागेकोसमेत बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत २/२ पटक प्रतिनिधिसभा विघटन गर्दा र कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले असंवैधानिक ढंगले सत्तामा टाँसिन खोज्दा सर्वोच्च अदालतले दण्डित गरेको पनि भट्टराईले बताएका छन् ।
उनले भनेका छन्, ‘पहिलेको सत्ताधारी पक्षले जानीजानी २/२ पटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत सच्याइएको थियो। त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सताधारी पक्षले १ नम्बर प्रदेशमा त्यसरी नै २/२ पटक संविधान र कानुन मिचेर सभामुख/ सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गयो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गन्यो।’
लोकतान्त्रिक शक्ति नै पतन हुँदै जाँदा देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्दत भइरहेको भट्टराईले बताएका छन् ।
‘हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो। यसैलाई देखाएर देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत भइरहेछन्,’ भट्टराईले भनेका छन् ।
त्यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण हुनु र विवादित बाबाहरूको भ्रमण हुनु पनि शंकास्पद रहेको अध्यक्ष भट्टराईको भनाइ छ ।
भट्टराईले भनेका छन्- ‘एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी/बाबाहरूको भेषमा जनताको अग्रगामी/लोकतान्त्रिक चेतना भुते पार्ने कसरत गर्नु त्यसैको परिचायक हो । यो संगीन घडीमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बचाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको छ । अब यसबारे कुनै किन्तुपरन्तु गर्ने ठाउँ र समय रहेन । देश र जनतालाई माया गर्नेहरू सबै गम्भीर बनौँ। आवश्यक पहल गरौं ।’
Discussion about this post