विराटनगर । कोशी प्रदेशमा जारी बजेट शून्यता अन्त्यका लागि सरकारले अर्को अध्यादेश ल्याउने भएको छ । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी नयाँ अध्यादेश ल्याउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका खानेपानीमन्त्री तीलकुमार मेन्याङ्बोले मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए ।
कार्की नेतृत्वकै तत्कालीन सरकारले यसअघि गत जेठ ३२ गते अध्यादेशबाट चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । निवर्तमान मुख्यमन्त्री उद्धव थापाले उक्त अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको छ ।
यसअघि ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको तस्तै ल्याउने तयारी गरिएको मन्त्री मेन्याङ्बोले बताए । अध्यादेश जारी भएपछि प्रदेशसभा बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउन नसके स्वतः निस्क्रिय हुने संवैधानिक प्रावधान छ ।
Discussion about this post