विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको मुलुकको संसदीय प्रणालीमा पुनर्विचार आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा अहिलेको अवस्था आउनुमा संसदीय प्रणाली दोषी रहेको बताए । ‘अहिलेको संसदीय प्रणालीमै दोष छ । हामीले अभ्यास गरिरहेको संसदीय व्यवस्थामा पुनर्विचार गर्न आवश्यक छ । यसकै ‘डिफेक्ट’ले जटिल अवस्था सिर्जना भएको हो,’ यादवले भने ।
उनले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन प्रमुख राजनीतिक दलहरु जिम्मेवार रहेको उल्लेख गरे । प्रदेशमा जनताको उन्नति, आर्थिक विकास र समृद्धिका लागि दलहरुबीचमा आपसी सहमति एवं सहकार्य आवश्यक रहेको यादवको भनाइ छ ।
‘संसदीय व्यवस्थामा बहुमत हुने दलले सरकार चलाउने र नहुँदा मध्यावधिमा जानुपर्ने थियो,’ उनी भन्छन्, ‘यी दुवै कुरा कोशी प्रदेशमा हुन सकेन ।’ उनले संवैधानिक व्यवस्थामै पुनर्विचार आवश्यक रहेको जिकिरसमेत गरे ।
‘संसदीय व्यवस्थामा बहुमत हुने दलले सरकार चलाउने हो । बहुमत नपुग्दा मध्यावधिमा जाने हो । यो त संसदीय व्यवस्थामा प्रस्ट छ । तर, यहाँ पाँच चरणमा पुगेर मात्रै जाने कुरा प्रक्रिया अपनाइयो । त्यो त्रुटिपूर्ण छ,’ यादवले भने ।
प्रदेशमा कुनैपनि दलको स्पष्ट बहुमत नभएका कारण सरकार नै अन्योलपूर्ण बन्दै गरेको स्वीकार गर्दै उनले प्रदेशको समस्या समाधानमा दलहरुबीच आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए ।
Discussion about this post