काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब देशको आर्थिक गतिविधिले तीब्रता पाउने आशा व्यक्त गरेका छन् ।
नेपाल भ्युज कन्केलेभ २०२३ मा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘‘राजनीतिमा एउटा सिस्टम स्थापित भएको छ । अब सकारात्मक बहसको आवश्यकता छ । त्यो भनेको ‘हामी गर्न सक्छौं, गर्न सकिन्छ भन्ने विषयमा छलफल व्यापक बनाउनुपर्छ । देशमा यसले सकरात्मक सन्देश फैलाउँछ । जब आत्मविश्वास बढ्छ, आत्मविश्वास बढ्यो भने आम्दानी गर्न सकिन्छ, आम्दानी भयो भने खर्च गर्न गरिन्छ । पूँजी छ भने लगानी गर्न गरिन्छ । ’
सुशासन, पारदर्शिता र कानुनको शासनलाई मध्यनजर राखेर सरकार अगाडि बढेको मन्त्री डा. महतले स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो आर्थिक रुपान्तरणको चारवटा खम्बा पर्यटन, हाइड्रो, सूचना प्रविधि र एग्रो विजनेश स्पष्ट र पारदर्शीरुपमा छन् ।’
चारवटा खम्बामध्ये पर्यटन क्षेत्र पहिलो भएको उनले बताए । डा. महतले भने, ‘ ‘पर्यटन क्षेत्रमा पश्चिमा देशको पर्यटन कुर्ने अवस्थाको अन्त्य भएको छ । छिमेकी मुलुकबाट लाखौं पर्यटक भित्र्याउन सक्छौं । रोजगारी र आम्दानी मात्र होइन, यसले आर्थिक रुपमा धेरै सहयोग पुग्छ । यो व्यवसायलाई अगाडि बढाउनुपर्छ ।’
दोस्रो जलविद्युत भएको उनको भनाइ थियो । महतले भने, ‘०४६ सालबाट निजी क्षेत्रले उत्पादन सुरु गरेको अहिले साढे दुई सय मेगावट उत्पादन भइसकेको छ । समग्रमा यसले लय पक्रेको छ । अहिले भारतसँग १० हजार मेगावट विद्युत खरिद सम्झौता भएको छ । बंगलादेशमा पनि बजार छ । यसबाट राजश्व वृद्धिमा महत्वपूर्ण योगदान पुग्छ । डायस्फोराले पनि यो क्षेत्रमा लगानीका लागि उत्सुकता देखाएको छ ।’
सीमाहिन सम्भावना सूचना प्रविधि क्षेत्र भएको मन्त्री डा. महतले उल्लेख गरे ।
एग्रो विजनेशलाई देशको अर्थतन्त्र कायापलट बनाउन सकिने सम्भावना रहेको मन्त्री डा. महतको भनाइ छ । उनले भने, ‘नयाँ प्रविधिको प्रयोग गरेर ठूलो स्केलमा कृषि उत्पादनको व्यवसायको सम्भावना प्रचुर छ । जमिन भाडामा लिएर यो व्यवसाय गर्छु भन्ने स्वदेश र विदेशीलाई आकर्षित गर्न सक्नुपर्छ । विदेशमा बसेर ज्ञान र अनुभव हासिल गरेरले सानो स्केलमा भए पनि यो व्यवसाय गर्न प्रेरित गर्नुपर्छ । उत्पादनलाई राज्यले अनुदान नीति लिएको छ ।’
Discussion about this post