भरत गुरागाईँ बर्बरिक
युद्ध हारेर फर्केको
एक घाइते सिपाही म
खोलाको बगरमा लडेको छु,
केही बिर्सिन खोज्दैछु
केही सम्झिन खोज्दैछु ।
सानो छँदा बाले
रामगोला छाप साबुन
दली-दली नुहाइदिँदा
म आत्तीआत्ती भागेको
बिर्सिन खोज्दैछु,
साँझमा आमाले
चोर र भूतका कथाहरु सुनाउँदा
डरले आमाको छातीमा टाँस्सिएको
बिर्सिन खोज्दैछु,
एकदम शून्य आकासमा एकटकले हेर्दै
सम्पूर्ण शान्ति खोज्दैछु म यतिबेला ।
ती ईर्ष्यालुहरु
ती डरपोकहरु
ती अवसरवादीहरु
ती परजीवीहरु
ती धूर्तहरु सबै सबैलाई बिर्सिन खोज्दैछु
जसले आफू अग्लो देखिन
बारम्बार मेरो शरीरलाई सिंढी बनाए ।
ती दुश्मनहरुलाई बिर्सिन खोज्दैछु
जसले बारम्बार आक्रमण गरिरहे
तर कहिल्यै आमने-सामने भएनन् ।
पटक-पटक सम्झना आइरहने
त्यो प्रेमिकालाई
चटक्कै बिर्सिन खोज्दैछु
जसले समर्पणको भ्रम छरी र
आफ्नै काखमा राखेर
विश्वासघाती छुरा
मेरो डँडाल्नोमा धसी रही ।
आमा रोएको त्यो साँझ सम्झिरहेछु
जुन साँझ हामी सपरिवार
भोकै सुतेका थियौँ,
त्यो दसैं सम्झिरहेछु
जुन दसैंमा हाम्रो शरीरमा
थोत्रा कपडा थिए र
हाम्रो आँगनमा
मालसिरीको धुन बजेको थिएन,
त्यो साँझको राँके जुलुस सम्झिन्छु-
राति नै देसमा गणतन्त्र आउँदैथियो र
भोलि बिहान लेखिँदैथियो
गरिबको संविधान ।
उसो त सम्झिनलाई थुप्रै कुराहरु छन्
तर बगरमा पल्टेको छु
घाउ असाध्य चहर्याइरहेको छ
शायद जिन्दगीको घाम डुब्दैछ अब ।
यो मृत्युशैयाबाट
म मेरी आमाको अन्तिम स्पर्श चाहन्छु
क्रान्तिको अन्तिम गीत गाउन चाहन्छु ।
Discussion about this post