नीरा सुब्बा
मनभित्र कोरिएको चित्रको रंग कहिले उडदैन,
अटिरहन्छ साँघुरो मनको कोठाभित्र
मोनालिसाको रहस्यमय मुस्कान जस्तो
मुस्काईरहन्छ एक कुना रोजेर
कैले काँही देखा पर्ने खुशीहरू ।
पग्लन मान्दैन मनभरी गाँठो परेको
हिऊँ जस्ता ढिकाहरू ।
बरू मोमबत्ती जस्तै विलीन बन्दछ
सुटुक्क ।
निराशाको वाष्पले मानचित्र बनिन्छ
मनको भित्ताभरि सोसिएर ।
एउटा चित्र केही मधुरो बन्दै जानु
समयको तापले गलाउदै जानु हो ।
हरेक मौसममा सूर्योदय हुने दिशा सरिरहन्छ ,
तर मनभित्रको आशाको ध्रुवले
देब्रे पाटो कहिले छोड्नै मानेन ।
भन्छ अजम्बरी छ आशा , विश्वास ,
आशा चाहिँ गर्नु, भरोसा नपर्नु ।
मनभित्रको कोरिएको आशाको चित्र दिनदिनै चकिलो छ ,
गाढा बन्दैछ रगत जस्तै तैलचित्र !
Discussion about this post