झापा । जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्यूनीकरणका लागि नयाँ रणनीति अपनाएको छ । भारत पश्चिमवंगालसँग सीमा भएर बग्ने मेची पुलदेखि मोरङको सीमानामा रहेको मावा पुलसम्मको ५५ किलोमिटर राजमार्ग क्षेत्रमा पर्ने ‘दुर्घटना ग्रस्त क्षेत्र’को पहिचान गर्दै सडक सुरक्षाका लागि नयाँ रणनीति अपनाएको हो ।
सडक सुरक्षालाई ध्यानमा राख्दै राजमार्गमा सीसी क्यामेरा जडान लगायतका काम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । सडक सुरक्षाका लागि सडक चुस्त राख्ने, सडकको दुबैतर्फ होर्डिङ बोर्ड राख्ने, सडकमा जेब्रा क्रसलाई दुरुस्त राख्ने, नागरिकलाई सचेतना फैलाउन विद्यालय र समुदाय स्तरमा कार्यक्रम गर्ने प्रहरी निरीक्षक न्यौपानेले बताए ।
दिनानुदिन सडकमा सवारीको चाप बढ्दै गएपछि दुर्घटना न्यूनीकरणका लागि सडकमा सीसी क्यामेरा अति आवश्यक रहेकाले त्यसको ब्यवस्थापन गर्ने प्रहरी निरक्षक न्यौपानेको भनाइ छ । सडक सुरक्षाका लागि यातायात व्यवस्था कार्यालय झापा, सडक डिभिजन कार्यालय झापा, विभिन्न स्थानीय तह तथा सामाजिक संघ–संस्थासंग साझेदारी गर्दै अघि बढ्ने बताइएको छ ।
झापाका आठ ठाउँ सवारी दुर्घटनाका हिसावले अति संवेदनशील क्षेत्र रहेको र ती ‘ब्लाकस्पर्ट’ रहेको बताउँदै प्रहरी निरीक्षक न्यौपानेले त्यस्ता क्षेत्रमा सडक सुरक्षाका उपाय अपनाउने बताए । पूर्वपश्चिम महेन्द्र राजमार्गको मेचीनगरपालिका–६को पालिया पुल, मेची नगरपालिकाको १३ स्थित कालीझोडा, कनकाई नगरपालिका–३ को जुकेकल्भर्ट, शिवसताक्षी–१० माईधार, शिवसताक्षी–२को धरमपुर चौक, कमल गाउँपालिका–३को सानो केर्खा, कमल गाउँपालिका–५को पाडाजुँगी र दमकको चिया वगान एरिया बढी दुर्घटना क्षेत्रका रुपमा रहेकाले ती ठाउँलाई ‘ब्लाकस्पर्ट’ कायम गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताए । चाडपर्व नजिकिएसँगै सडक दुर्घटना बढ्न सक्ने भन्दै सडक सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ । जसका लागि सडक सुरक्षामा केन्द्रीत भएर ट्राफिक प्रहरीले काम गर्ने उनको भनाइ छ । प्रहरी निरीक्षक न्यौपानेले भित्री सडकमा समेत दुर्घटना बढेकाले त्यस्ता सडकलाई व्यवस्थापन गरिने बताए ।
मुक्तिचोक एरियालाई थप व्यवस्थित गरिने
सडकमा सवारीको चाप बढेसँगै बिर्तामोडस्थित मुक्ति चोक क्षेत्रलाई थप व्यवस्थित गरिने भएको छ । जसका लागि स्थानीय तह र विभिन्न संघ–संस्थासँग समन्वय गर्दै मुक्तिचोकलाई ‘वान–वे’ अवधारणामा लागिने प्रहरी निरीक्षक न्यौपानेले बताए ।
मुक्तिचोक उत्तर शनिश्चरे रोडबाटै कृषि थोक छिर्ने भित्री सडकलाई ‘वानवे’ ट्राफिक व्यवस्थापनलाई सहज बनाइने भएको छ । हिकोला हेरिटेजबाट पूर्व उत्तर कृषि थोक छिर्ने बाटो बाट प्रवेश मात्रै दिने र कृषि थोक भर्न आउनेलाई पश्चिमतर्फ शनिश्चरे रोड र पूर्वतर्फ कनकाई रोडबाट मात्रै निस्कने दिने गरीको तयारी गरिएको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ ।
चालू आर्थिक वर्षमा १२ जनाले गुमाए ज्यान
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपाय अपनाए पनि झापाका सडकमा पूर्ण रुपमा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।
चालू अर्थिक वर्षको दुई महिनामा १२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा १४४ वटा सवारी संलग्न भएका छन् । ती सवारीमा सवारमध्ये १२ जनाको मृत्यु, १९ जना शख्क्त घाइते, १३२ जना सामान्य घाइते रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
गतवर्ष झापाका सडक दुर्घटनामा परी ११४ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९मा ११६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । विशेषगरी चाडपर्व र हिँउदको समयमा सडक दुर्घटनामा वढी हुने भएपछि ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नयाँ रणनीति अपनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post