झापा । नेपाल टेलिकम सुरुङ्गा शाखामा कार्यरत दीलिप सुवेदी हराएको साता बित्न लाग्दा समेत फेला परेका हैनन् । उनी नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख हुन् ।
गत शनिवार बिहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट उनी बेपत्ता बनेका थिए । बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।
उनले अहिलेसम्म कुनै सुराक फेला नपरेको जानकारी दिए ।‘कोही कसैसँग लेनदेन देखिँदैन, कसैसँग रिसिबी पनि देखिँदैन’ प्रहरी नायव उपरीक्षक कार्कीले भने,‘ परिवारले दिएको हुलियाका आधारमा खोजी कार्य र अनुसन्धान जारी छ ।’
अधिकृत छैठौ तहका कर्मचारी ३१ वर्षीय सुवेदीले नेपाल टेलिकम सुरुङ्गा शाखामा गत फागुन महिनादेखि काम गर्न थालेका हुन् । त्यहाँका कार्यालय प्रमुख असार महिनामा बिर्तामोडमा सरुवा भएपछि उनले सुरुङ्गा शाखाको जिम्मेवारी सम्हालेका थिए । सुवेदी कार्यालयको क्वाटरबाटै बेपत्ता भएका हुन् । विराटनगर नगरपालिका ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए ।
Discussion about this post