काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन सुरु गरेको छ ।
आयोगले मोरङ्, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरूको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूलाई पत्राचार गरेकोछ ।
भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बालसुधार गृहहरूमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहमा राखिएका बालकहरूको मृत्यु भएको एवम् केही बालक घाइते भएको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भक्तपुरको मध्यपुरस्थित बाल सुधारमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न केन्द्रीय कार्यालयको टोली आजै खटिइसकेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा भएको घटनाको निरन्तर अनुगमन गरिरहेको छ ।
Discussion about this post