पवन अधिकारी/इटहरी
नेपाली सेनाबाट अवकाशप्राप्त व्यक्तिले जागिर लगाइदिने प्रलोभनमा पारी लाखौं रुपैयाँ असुलेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
सशस्त्र प्रहरीमा जागिर लगाइदिने भन्दै नेपाली सेनाका अवकाशप्राप्त हवल्दार इटहरी १० निवासी प्रदिप चौधरीले ठगी गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो ।
सशस्त्र प्रहरीको जागिरको लोभमा सुनसरी देवानगञ्ज ७ का दिपेशकुमार यादव, रुपेशकुमार यादव र रुपेश यादवले पैसा फसेको भन्दै चौधरी विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
विराट मोडल कलेज विराटनगरमा स्नातक अध्ययन गर्दै आएका दिपेशले जागिर पाउने आशामा चौधरीलाई ३ लाख ६० हजार रुपैयाँ तिरेको बताए ।
२ वर्षअघि आमा बुवाले कमाएर ल्याएको केही रकम र अरु ऋण खोजेर प्रदिप चौधरीलाई ३ लाख ६० हजार रुपैयाँ दिएको उनको भनाइ छ ।
‘सशस्त्र प्रहरीमा जागिर लगाउन नसकेपछि बन रक्षकमा जागिर लगाइदिन्छु भन्नु भयो, त्यहाँ पनि लगाइदिनु भएन’ रुपेशले प्रदेश खबरलाई भने ।
कोशी क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययन गर्दे गरेका सोही ठाउँका दिपेशको पीडा पनि उस्तै छ । घरको भैँसी बेचेर जम्मा पारेको १ लाख रुपैयाँ र साहुसँग ऋण काढेको २ लाख ६० हजार रुपैयाँ जागिर पाउने आशामा फसेको उनले बताए ।
अर्का युवक रुपेशले सशस्त्र प्रहरीमा जागिर पाउने आशामा ३ लाख ५८ हजार रुपैयाँ चौधरीलाई दिएको बताए ।
उनले आफूहरु जस्तै धेरै युवाहरुलाई जागिर दिलाइदिने प्रलोभनमा चौधरीले फसाएको बताए । पैसा फिर्ताका लागि पटक पटक ताकेता गरेपछि केही रकम चौधरीले फिर्ता गरेका थिए ।
यसबारे इटहरी वडा नम्बर १० को कार्यालयमा सर्वपक्षीय छलफल समेत भएको थियो । त्यस बेला ६ महिना भित्रमा सबै पैसा दिने कबोल गरेका चौधरीले अहिलेसम्म पनि पीडितहरुको पैसा फिर्ता गरेका छैनन् ।
पैसा माग्न जादा चौधरीको धाक धम्की समेत सहनु परेको पीडितहरुको भनाइ छ । चौधरीले प्रयोग गर्दे आएको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले रिसिभ गरेनन् ।
इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले ठगिएकोबारे निवेदन परेकाले चौधरीलाई प्रहरी कार्यालयमा ल्याएर पहिलो चरणमा छलफल गर्ने बताए । त्यसपछि समस्या समाधान नभए कानुनी प्रक्रियामा अघि जाने उनले बताए ।
Discussion about this post