झापा । झापामा धमाधम माओवादी केन्द्र परित्याग गर्नेहरु बढि रहेका बेला प्रदेश सदस्य बाशु दुलालसहित ७१ जनाले बुधबार पार्टी छाडेको घोषणा गरेका छन् ।
चुनावपछि गाउँ फर्किने अभियान ‘जन– जनमा माओवादी, घर–घरमा माओवादी’ चलिरहेका बेला बिर्तामोडमा भने ठूलो संख्यामा नेता तथा कार्यकर्ताले सो पार्टी परित्याग गरेका हुन् । माओवादी केन्द्रका कोशी प्रदेश सदस्य बासु दुलाल र वाइसीएल नगर संयोजक सुदिव खवासले बुधबार पार्टी परित्याग गरेका हुन् ।
पार्टीभित्रको अराजकता, बिसंगति र अराजनैतिक गतिविधिले पार्टी संगठन भद्रगोल भएको र नेतृत्वको जीवनशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले पार्टी छाडेका हुन् । माओवादी केन्द्रमा समाजवादसम्म पुग्ने स्पष्ट र वैज्ञानिक दृष्टिकोण, नीति तथा कार्यक्रम नभएको तथा सत्ता केन्द्रित राजनीतिले कार्यकर्ता र जनतामा चरम निराशा उत्पन्न गराएको उनीहरूले बताएका छन् ।
गैरकम्युनिष्ट बाहेकका पार्टीहरूबीच तत्काल एकता कायम गरी समाजवादी कम्युनिस्ट केन्द्र निर्माण गर्न जनस्तरबाट दबाब दिन पार्टीबाट राजीनामा दिएको उनीहरूले बताएका छन् । यसअघि शनिबार पनि ७१ जनाले पार्टी परित्याग गरेका थिए । माओवादी आन्दोलनमा आफूहरू लामो समयदेखि क्रियाशिल रहेको भए पनि पार्टी समाजवादी बाटोमा नहिँडेकाले पार्टी छाडेको उनीहरूको भनाइ छ ।
पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य प्रकाश भारती, बिर्तामोड–४ का पार्टीका वडाध्यक्ष गोपी अधिकारी, वडा सचिव शंकर गौतम, नगर सदस्य नन्दीकेशर पोखरेल, झलक राजवंशी, वडा नम्बर १ उपाध्यक्ष कुमार काफ्लेलगायत ७१ नेत तथा कार्यकर्ता रहेका छन् । पछिल्लो समय झापामा माओवादी केन्द्र परित्याग गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।
Discussion about this post