विराटनगर/कोसी प्रदेशको अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि आजै राजीनामा दिएका छन् । कार्कीले प्रदेशसभाबाट आजै विश्वासको मत लिने कार्यसूची थियो । तर, मत परीक्षण नगरिकन उनले पदबाट राजीनामा दिएका हुन् ।
कार्कीको राजीनामासँगै प्रदेशमा उपधारा ५ बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ । उपधारा ५ बमोजिम प्रदेशसभामा बहुमत पुर्याउनसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसअन्तर्गत मुख्यमन्त्री बन्न दलको नेता भइरहनु पर्दैन । बहुमत दाबी गर्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न पाउँछन् । मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै सरकारको नेतृत्वका लागि गठबन्धन दल कांग्रेस र माओवादीले दाबी प्रस्तुत गरेका हुन् ।
कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले अब बन्ने नयाँ सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए । तर, मुख्यमन्त्री कसलाई बनाउनेभन्ने निर्णय सत्ता गठबन्धनको शीर्ष नेतृत्वले गर्ने उनको भनाइ छ । थापा कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनलाई संस्थापन पक्ष अर्थात पार्टी सभापति शेरबहादुर देउवाले समेत साथ दिँदै आइरहेका छन् ।
तर, संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर प्रदेशसभा सदस्य भने थापालाई मुख्यमन्त्री बनाउन नहुने पक्षमा छन् । यसअघि उनी दुईपटक मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बन्दा र विश्वासको मत लिँदा संविधानको उल्लंघन गरे । पछिल्लोपटक भदौ २१ गते सर्वोच्च अदालतले थापालाई पदमुक्त गर्दै एमाले नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको परामादेशपछि भदौ २२ गते कार्की मुख्यमन्त्री बनेका थिए ।
तर, कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन् । ‘मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ । निर्णय गठबन्धनको शीर्ष नेतृत्वले गर्ने हो,’ प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘यसअघि म दुईपटक मुख्यमन्त्री बनें । तर, काम गर्ने अवसर पाइँन ।’ उनले अब नयाँ सरकारको मुख्यमन्त्री बन्न दलको नेता आवश्यक नपर्नेसमेत बताए । तर, दल भएकाले दलको निर्णय प्रदेशसभा सदस्यले मान्नुपर्ने उनको भनाइ छ । दल मात्रै नभएर गठबन्धन पनि रहेको भन्दै थापाले गठबन्धन तोडेर मुख्यमन्त्री बन्न कोही पनि जान नमिल्ने आशय व्यक्त गरे ।
दलको अनुशासन तोडेर जानेलाई मान्न नसकिने थापाको भनाइ छ । गठबन्धन तोडेर सरकार गठन नहुने हुँदा एमाले र कांग्रेसको सरकार बन्ने सम्भावना नरहेको उनले बताए । माओवादीलाई छाडेर सरकारमा एमालेलाई समर्थन गर्न कांग्रेसलाई नैतिकताले नदिने थापाले बताए । यसअघि आफ्नो नेतृत्वमा दुईपटक सरकार गठन हुँदा माओवादीले सभामुखलाई भोट हाल्न लगाउनेदेखि राजीनामा दिन लगाउनेसम्मको काम गरेका कारण माओवादीसहितका गठबन्धनआवद्ध अन्य दललाई छाड्न नमिल्ने थापाको तर्क छ ।
माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन् । यसअघि कांग्रेसको नेतृत्वमा दुईपटक सरकार बनेपनि टिक्न नसकेको बताउँदै उनले अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्बोले यसअघि कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको स्मरण गरे ।
कांग्रेसले अब पनि विश्वासको मत प्राप्त गर्न नसक्ने गरी सरकारको नेतृत्वमा दाबी गर्न निमल्ने उनले बताए ।
माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सकिने उनको भनाइ छ । प्रदेशको सम्भावित मध्यावधि निर्वाचनलाई टार्न र प्रदेशलाई राजनीतिक स्थायित्व प्रदान गर्न माओवादीकै नेतृत्वमा सरकार बन्न आवश्यक रहेको आङ्बोको दाबी छ । गठबन्धनसँग सहकार्य गर्न राप्रपासमेत इच्छुक रहेको र केन्द्रमा नेताहरुसँग कुरा भइरहेको उनी बताउँछन् ।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा बहुमत पुर्याउन ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ । एमाले र राप्रपाबाहेक अहिले गठबन्धनसँग ४७ मत पुग्छ ।
Discussion about this post