विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई दिनपछि प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठकबाट विश्वासको मत लिने तयारी कार्कीले गरेका हुन् ।
आगामी बुधबार (कात्तिक १ गते) दिनको ११ बजेका लागि बोलाइएको बैठकबाटै उनले विश्वासको मत लिने छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि असोज २० गतेदेखि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम विश्वासको मत लिने प्रस्तावसँग सम्बन्धित सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिनअगाडि त्यससँग सम्बन्धित सूचना प्रदेशसभा सचिवलाई दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार कार्कीले प्रदेशसभामा सूचना दर्ता गराएका हुन् ।
गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिए । एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरे ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धन र एमालेको चेपुवामा परेका कार्कीले अरु मुख्यमन्त्रीभन्दा चाँडै विश्वासको मत लिन खोजेका छन् ।
कार्कीलाई गठबन्धनले आफ्नै मुख्यमन्त्रीका रूपमा स्वीकार गरेको छ । गठबन्धन कायम राख्न पनि कार्कीमाथि दबाब बढेको छ । त्यस्तै, एमालेले आफूहरुसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्न दबाब दिएको छ । कार्कीबाट गठबन्धन र एमाले दुवै सशंकित छन् ।
मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी (केन्द्र)ले पनि विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको छ । माओवादीको सोमबार बसेको पार्टीको प्रदेश बैठकले कार्कीलाई मत दिनुपर्ने निष्कर्ष निकालेको हो । ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छभन्ने हाम्रो मनसाय हो,’ माओवादीका एक नेता भन्छन्, ‘तर, केन्द्रबाट निर्देशन आउन बाँकी छ ।’
कार्कीकै कारण माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री हुन पाएनन् । गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपनि त्यसविरुद्ध कार्कीले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कार्कीले आफूलाई समर्थन गर्ने सबै प्रदेशसभा सदस्यको सनाखत गराएपछि आङ्बोको दाबी प्रदेश प्रमुखबाट अस्वीकृत भयो ।
आङ्बोले कार्कीसहित उनलाई समर्थन गरेका कांग्रेसका प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनीलाई हस्ताक्षर दुरुपयोग गरेको आरोप पनि लाग्यो ।
Discussion about this post