धरान । धरानमा जिल्लाकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको छ । धरानको ५ नं. वडा स्थित अधेरी खोलामा निर्माण भएको झोलुंगे पुलको आज शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उद्घाटन गरेका छन् ।
आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अधेरी खोलामा २ सय ३३ मिटर लामो सस्पेन्डेड झोलुङ्गे पुल निर्माण भएको छ । प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग मातहतको सस्पेन्सन ब्रीज डिभिजनले १ करोड ८ लाख ४२ हजार ९१५ रुपैया लागतमा उक्त पुल निर्माण गरिदिएको धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिए । उनका अनुसार पुलको भारवाहन क्षमता ७० मेट्रिक टन अथवा ५ सय ३ जना मानिसहरुको रहेको छ ।
पुल निर्माण भएपछि ठिंगबारी र आँपटार हुँदै धरानको बजारसम्म सिधै जोडिएर स्थानीयबासीहरुलाई सुविधा भएको छ । पुल नहुँदा धेरै दुख कष्ट खेपेको स्थानीयले बताएका छन् । स्थानीय रविन गिरीले भने –‘हामीलाई अहिले बाढी आएको बेला पनि सागसब्जी तथा दुध बजार पु¥याउन सहज भएको छ भने केटाकेटीहरुलाई विद्यालय जान आउन पनि सुविधा भएको छ ।’ त्यस्तै आँपटारकी रमिता राईले आफुहरु धान कुटाउन मिल जानुपर्दा, बच्चाहरुलाई बालबिकास केन्द्र पठाउदा र वडा कार्यालय जान सहज भएको बताइन् । रिसोर्टको पनि उद्घाटन झोलुङ्गे पुलसँगै रहेको टिकटक रिसोर्ट पनि शुक्रबार उद्घाटन गरिएको छ । मन्त्री राई र धरानका मेयर हर्कराज राईले रिबन काटेर रेष्टुरेण्ट उद्घाटन गरे ।
रिसोर्टमा हाल काठको रोटेपिङ्ग, केटाकेटीको लागि चिप्लेटी, फोटो खिच्नको लागि सर्पको प्रतिमा पनि राखिएको छ । रिसोर्ट उद्घाटन पछि मन्त्री राई, प्रदेश सांसद रमेश बस्नेत, मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले रोटेपिङ चढेर मनोरञ्जन पनि लिएका थिए ।
Discussion about this post