झापा । समाजमा चर्चा कमाउन र आफूलाई अब्बल देखाउन धेरै मानिस भड्किला काम गर्छन ।
तडकभडक गरेरै भएपनि समाजमा स्थापित बन्ने सोख अधिकको हुन्छ । त्यसका लागि कोही लाखौँं दान गर्छन्, कोही त्यही अनुपातमा चन्दा दिन्छन् वा अरु कुनै भड्किला गतिविधि ।
समाजमा त्यस्ता स्थापित मानिस पनि छन्, जो हेर्दा सामान्य काम गर्छन् र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल छन् । ती मध्येका एक हुन्, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । शर्मा पुरानै कर्म गर्छन्, तर नवीन ढंगले । शर्मा सामान्य काम गरेर भावनात्मक रूपमा सबैको समीपमा पुग्न चाहान्छन् । उनी हरदम दीनदुखीका सच्चा सहयोगी बन्न रुचाउँछन् । शर्माले यसपटकको दशैँको सुरुवात नै नवीन ढंगले गरेका छन् ।
व्यक्तिगत रूपमा दशैंमा मीठो खाने, नयाँ लुगा लगाउने र आफन्तसँग भेटघाट गर्ने चलन नै हो । राजनीतिक दलले चियापानसँगै शुभकामना आदानप्रदान गर्ने परम्परा गर्दै आएका छन् । उहिलेदेखि नै काङ्ग्रेसले त त्यो बर्सेनी गर्दै आएका कर्म नै हो ।
नेपाली काङ्ग्रेस झापा–१ काठमाडौँ सम्पर्क समिति र सो क्षेत्रका काङ्ग्रेस सांसद शर्माले यसपालि दशैँमा भिन्न काम गरेका छन् दशैँको सुरुमै उनी सुस्त मनस्थिति र अपांगता भएका बालबालिकाको समीपमा पुगेका छन् ।
काठमाडौँको शंकरापुरमा सुस्तमनस्थिति र अपांगता संरक्षण गृह छ । सो गृहमा ५३ जना बालबालिका छन् । ती मध्ये कोही आवाजविहीन छन्। कोही उभिन सक्दैनन् । कोही व्हीलचेयरको सहारामा जीवन संघर्ष गरिरहेका छन्, कोही सुस्तमनस्थितिका छन् । शर्माले उनीहरूलाई भेटे, भावना साटे ।
सांसद शर्माले सम्पर्क समितिको संयोजनमा त्यो काम गरेका हुन् । उनको तलबको केही रकम र सम्पर्क समितिका सदस्यले मिलेर ४० हजार जम्मा गरे। उनीहरूले खाद्यान्न र नगद गरी ४० हजार रुपैयाँ बराबरको सहयोग गरे । उनीहरूको यो कर्मले गृहको संरक्षणमा रहेका बालबालिकाको दशैँमा रौनकता थपिएको छ ।
अपांगता भएका युवासँग शर्मा र सम्पर्क समितिले दशैँ मनाएका छन् । संरक्षणमा रहेका सहाराविहीनको दशैँको अभाव उनीहरूको यो कर्मसँगै टरेको छ । समिति र शर्माको यो काम नयाँ होइन, तर दशैँ मनाउने तरिका नयाँ हो ।
शर्मा र समितिका केही व्यक्ति संरक्षण गृह पुग्दा कुनै तामझाम थिएन । न कसैको आसन, न भाषण । खादामालाको त कुरै थिएन । सांसद शर्मा र सम्पर्क समितिका सभापति प्रज्वल कोइराला, समितिका सीमिति सदस्य त्यहाँ पुगे, आफूले लगेको सामग्री हस्तान्तरण गरे ।
संरक्षण गृहमा रहेका बालबालिकालाई ढाडस दिए, भावना साटे, आवश्यक सहयोग गर्ने वचन दिए र फर्किए । गज्जबको दृश्य त सांसद शर्माले सहानुभूति दिन र सबैसँग हात मिलाउन भ्याए ।
संरक्षण गृहमा विभिन्न जिल्लाका बालबालिका छन् । युवराज थापाले उनीहरूलाई संरक्षण गरेर राखेका हुन्।
Discussion about this post