काठमाडौं । आईसीसी टी-२० विश्वकप एसियाली छनोटमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली सेमिफाइनल पुगिसकेकाले यो खेल समूह विजेताको होडका लागि महत्वपूर्ण हुनेछ ।
खेल विहान नौ बजे टियू मैदान कीर्तिपुरमा सुरु हुनेछ । टी-२० अन्तराष्ट्रियमा नेपाल र ओमान अहिलेसम्म चार पटक भिडेका छन् । ति मध्ये तीनवटा नेपाल विजयी भएको छ । ओमानले एक खेल जितेको छ ।
जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।
समूह ए मा रहेका यी टोलीले सेमिफाइनलमा कुन टिम प्रतिद्धन्दी पाउने अझै टुङ्गो लागेको छैन । त्यसैले दुवै टोली समुह विजेता हुन चाहन्छन् ।
अहिलेसम्म समुह बी मा यूएई, बहराइन र हङकङ सेमिफाइनलको दौडमा छन् । हङकङ र यूएईबीच ९ बजे नै मुलपानी मैदानमा खेल हुँदैछ । समूह बीमा अहिलेसम्मको प्रदर्शनको आधारमा यूएई बलियो देखिएको छ । उसको ४ अंक छ । हङकङ र बहराइनको २-२ अंक छ ।
हङकङसँग हारे पनि रनरेटका आधार यूएई नै समूह विजेता बन्ने धेरै सम्भावना छ । नेपालले ओमानलाई हराएर यूएईसँगको सम्भावित सेमिफाइनल भिडन्त टार्न प्रयास गर्नेछ ।
१० वर्ष अघि टी-२० विश्वकप खेलेको नेपाल अब अर्को विश्वकपको नजिक पुगेको छ । सेमिफाइनलमा जित हासिल गर्ने टोलीले विश्वकप खेल्न पाउनेछ । त्यसैले नेपाल विश्वकपमा पुग्न अब एक खेलमात्रै टाढा छ ।
समुह बी मा बहराइनसँग खेल्न बाँकी रहेको कुवेतको पनि सेमिफाइनल पुग्ने गणितीय सम्भावना कायम छ । त्यसैले समूह ए को विजेताको सेमिफाइनलमा प्रतिद्धन्दी को हुनेछ भन्ने टुङो भने आज दिउँसो बहराइन र कुवेतबीचको खेलपछि मात्रै लाग्नेछ ।
ओमान बलियो टिम रहेका नेपालका लागि दीपेन्द्र सिंह ऐरीको अभाव खड्किन सक्नेछ । चोटग्रस्त ऐरी विश्वकप छनोटबाट बाहिर भएका छन् । नेपाली टिममा धेरै ठूलो परिवर्तनको सम्भावना कम छ । यसअघिकै प्लेइङ ११ नै आज पनि मैदान उत्रने धेरै सम्भावना रहेको क्रिकेटका विश्लेषक बताउँछन् ।
Discussion about this post