विराटनगर
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतीय सरकार निर्माणको बाटो बन्द नहुने बताएका छन् ।
नेकपा (एमाले)प्रति लक्षित गर्दै उनले दलहरुबीचमा सहमतीय सरकार गठन गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा एमालेलाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको उल्लेख गरे । एमालेले आफूलाई मुख्यमन्त्री बनाउन गरेको सहयोग बिर्सन नसक्ने उनले बताए ।
गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत असोज २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । शपथग्रहणलगत्तै उनले असोज २८ गते विद्रोही कांग्रेसका शम्शेर राई र एमालेका रामबहादुर रानामगरलाई मन्त्री नियुक्त गरे । शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको छ । मन्त्री रानाले शनिबार पदबाट राजीनामा दिएका छन् ।
एमाले सरकारबाट बाहिरिएपछि विराटनगरमा शनिबार पत्रकारहरुसँग छलफल कार्यक्रमको आयोजना गर्दै उनले प्रदेशको समृद्धिका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने धारणा राखे । ‘म नेकपा (एमाले)लाई आग्रह गर्न चाहन्छु । तपाईंहरु (एमालेका प्रदेशसभा सदस्य)कै सहयोगमा म मुख्यमन्त्री बनेको हुँ । मध्यावधि रोक्न तपाईंहरुले गर्नु भएको उदाहरणीय कार्यलाई बिर्सिन सक्दिन,’ कार्कीले भने, ‘त्यही भएकाले एमालेलाई पनि सँगै लिएर अघि बढ्न चाहन्छु । प्रदेशमा सहमतीय सरकार निर्माणको बाटो बन्द हुँदैन । सबै सँगै जाउँ, प्रदेशको हितमा काम गरौं ।’
मुख्यमन्त्री कार्कीले संविधान जारी गर्दादेखि जनआन्दोलन सफल बनाउँदा दलहरुबीचमा भएको सहकार्यलाई स्मरण गराएका छन् । ‘सहकार्यले नै दलहरु सफल हुने हो । अहिले पनि प्रदेशमा सबै परिवर्तनकारी शक्तिहरु एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘हिजो विश्वासको मत दिँदा सबै एकै ठाउँमा थियौं । एकअर्कामा दुराभाव नराखिकन अघि बढ्दा बाटो छेक्ने र अप्ठोरो पार्ने काम कोहीबाट हुन हुँदैन ।’
उनले एमाले सरकारमा रहुनजेल माओवादी र एकीकृत समाजवादी आउन नचाहने तथा माओवादी सरकारमा आयो भने हामी निस्कन्छौं भनेर एमालेले भन्ने गरेको अवस्थालाई वार्ता र ‘टेबुल टक’ गरेर मिलाएको समेत दाबी गरे । ‘हामीले ‘टेबुल टक’ गरेपछि माओवादी र समाजवादी सरकारमा आउन राजी हुनु भयो । मुख्यमन्त्रीको प्रस्ताव स्वीकार गर्छौ र सहमतीय सरकारमा जान्छौं भन्नु भयो,’ कार्की भन्छन्, ‘प्रदेशको समृद्धि र सुशासनमा सामेल हुन्छौं भनेर उहाँहरु तयार हुनु भएको छ । सहमतीय सरकार गठन गरेर नयाँ हिसाबले अघि बढ्ने योजना छ ।’
उनले सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई आग्रह गरेका छन् । ‘म सहमतिको बाटोमा छु । त्यो अघिल्ला मुख्यमन्त्रीहरुकै एजेण्ड हो । अघिल्ला मुख्यमन्त्रीले संसदमा पटकपटक सहमतिको सरकार बनाउन आह्वान गर्दा पनि दलहरु सामेल नै हुन चाहेनन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘उपाधारा ५ अनुसारको सरकारमा एमालेका माननीय ज्यूहरुले मलाई मुख्यमन्त्री बनाउन सहयोग गर्नु भयो । त्यो दलबाट बन्नु भएका मुख्यमन्त्रीको एजेण्डलाई लागू गर्नसक्छु भनेर मैले सहमतीय सरकार निर्माणको पहल गरेको हो । कोशी प्रदेशमा सहमतीय सरकारको विकल्प छैन ।’
कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने तथा मुख्यमन्त्री भइसकेपछि विश्वासको मत दिने सबै प्रदेशसभा सदस्यप्रति आभार प्रकट गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने आफूले सरकारमा आउन आह्वान गरिनसकेको पनि उल्लेख गरे । ‘मैले राप्रपालाई सरकारमा आउनु भनेर भनेको छैन । तर, प्रदेशको समृद्धिका लागि सँगै अघि बढ्न सकिन्छ,’ कार्कीले भने, ‘राप्रपालाई पनि सहमतीय सरकारमा आउन आह्वान गर्छु । यद्यपि, परिवर्तनकारी शक्तिहरु भने एकजुट हुन आवश्यक छ ।’
प्रदेशमा भौतिक विकास, स्वास्थ्य, शिक्षा र कृषिमा कसरी फड्को मार्न सकिन्छ भनेर सरकार लागि परेको उनले बताए । कार्कीले भूकम्पबाट पुगेको क्षतिप्रति दुःखसमेत व्यक्त गरेका छन् । कोशी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा शनिबार साँझ नै राहत सामग्री पठाउने जानकारी उनले दिए ।
Discussion about this post