विराटनगर। दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका बराहक्षेत्र ११ का विद्यार्थी राजेशकुमार स्वर्णकारको शव बराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले बुझेका छन् । विराटनगर ल्याइएको स्वर्णकारको शव लिन नगरप्रमुख कार्की आफैं विमान्स्थल पुगे ।
१० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव आएकामा गएराति स्वर्णकारको शव काठमाडौं ल्याइएको थियो । काठमाडौंबाट आज साँझ नेपाली सेनाको कलसाइन एनए-०४१ जहाजमार्फत शव विराटनगर ल्याइएको थियो ।
शव परिवारको जिम्मा लगाइने र भोलि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।
फ्लाई दुवईको जहाजमार्फत स्वर्णकारको शव गएराति नेपाल आइपुगेको हो ।
दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Discussion about this post