विराटनगर / जिल्ला अदालत मोरङले सामूहिक बलात्कारमा संलग्न कराँतेका दुई जना प्रशिक्षकलाई कैद र जरिवानाको फैसला गरेको छ ।
सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार दुवै जनालाई जनही ८ वर्ष कैद सजाय र ३ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको हो ।
उनले इजलासबाट दुवै जनालाई जनही ३ लाख जरिवानासमेत भएको बताए । कराँतेका प्रशिक्षक सुवेदी र राउतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइएको थियो । अदालतले उनीहरुलाई एक सातअघि नै कसूरदार ठहर गरेको हो ।
यसअघि नै दोषी ठहर भएका दुवै जनाको हकमा सजाय निर्धारण भने बुधबार भएको अदालतका सूचना अधिकारी सुवेदीले बताए । न्यायाधीश दाहालकै इजलासले उनीहरुलाई गत बुधबार कसूदार ठहर गरेको थियो ।
फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण अलगअलग समयमा गर्नुपर्ने कानुनी व्यवस्था छ । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक थिए ।
आफूलाई विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता सामूहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो । प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको थाहा भएको थियो । सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए ।
परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख छ । जाहेरीमा खुलाइए अनुसार सुवेदीले पछि साथीलाई समेत बोलाएपछि दुवै जनाले सामूहिक बलात्कार गरेका हुन् । अदालतले सामूहिक बलात्कार पुष्टि गर्दै पीडकलाई कैद तथा जरिवाना हुने फैसला गरेको हो ।
Discussion about this post