धनकुटा । धनकुटा नगरपालिकाले सुरु गरेको स्मार्ट भिलेज अभियानको काम अलपत्र परेको छ । प्रदेश तथा संघीय सरकारले नसघाउँदा शिक्षा, सूचना, सरसफाइ, कृषि र पानी ब्यबस्थापन योजनाको कामले अपेक्षित गति हासिल गर्न सकेको छैन् । धनकुटा नगरपालिकाले बैकल्पिक उर्जाका लागि बायोग्यास, बर्षात्, भूमिगत पानी मुहान संरक्षण, व्यवसायिक कृषिका लागि टनेल खेति, उन्नत बीउ उत्पादन, शिक्षा, ब्यबस्थीत सूचना र सरसफाईको पहुँच उपलब्ध गराउँन स्मार्ट भिलेजको कार्यक्रम सुरु गरेको थियो । टोलटोलमा सूचना केन्द्र, बिषादीरहित कृषि उत्पादन, घरभित्रको धुँवा न्यूनीकरण यसको लक्ष्य थियो । चार बर्षअघि सुरु परियोजनामा यहाँका करिब चारहजार घरधुरी स्थानीयलाई समेट्ने योजना थियो । तर संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाउँदा कार्यक्रमको प्रगती २० प्रतिशत भन्दा माथि पुग्न नसकेको धनकुटा नगरपालिकाको वातावरण अधिकृत उपेन्द्र खनालले बताए ।
चारहजार घरधुरीमा बायोग्यास पु¥याउँने लक्ष्य प्राप्त गर्न सकिएको छैन् । नगरपालिकाभीत्रका दुइसय घरधुरीले मात्रै आधुनिक प्रविधिको बायोग्यास उपयोग गरिरहेको उनले बताए । कृषि पर्यटनसँग जोड्न जलबायू अनुकुलन नमुना गाउँको अबधारणा अघि सारिएपनि नगरपालिका आफैले वित्तिय ब्यबस्थापन गर्न नसकेको र केन्द्र तथा प्रदेश सरकारले बजेट बिनियोजन नगर्दा यो कार्यक्रम अधुरो छ । प्रदेश र संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती हुँदा योजना अनुसार काम गर्न नसकिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको भनाई छ । नगरपालिकाको आन्तरिक आयको आकार साँगुरो रहेकाले स्मार्ट भीलेजका लागि लक्ष्य अनुरुप काम गर्न नसकिएको उनले बताए । ३० करोड रुपैयाँ प्रस्ताव गरिएको स्मार्ट भिलेज कार्यक्रमका लागि बितेको चार बर्षमा धनकुटा नगरपालिकाले पाँच करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।
Discussion about this post