बेलबारी । मोरङको बेलबारी ४ को बेतना सिमसारमा एक साताअघि गत मंगलबार बिहान स्थानीय बासिन्दाले लगाएको तालाबन्दी अझै खुलेको छैन ।
तालाबन्दी खोल्न सामुदायिक वन उपभोक्ता समुह,वन कार्यलय,राजनीतिक दल लगायत कसैले पनि अहिलेसम्म पहल गरेका छैनन । सो समुहको यहि मंसीर १६ गते साधारणसभा समेत तोकिएको छ ,तर पनि आफुहरुको माग पुरा नभएसम्म कुनै पनि हालतमा साधारणसभा हुन नदिने आन्दोलनरत संघर्ष समितिको तयारी छ ।
स्थानीय स्रोत साधनमा स्थानियको पहुँच नभएको र बेतना सिमसारमा चरम राजनीति भएको भन्दै सयौँ स्थानीयले तालबन्दी गरेका थिए। बेतना सिमसार सामुदायिक वन समुहमा चरम राजनीति भएको र स्थानीय बासिन्दालाई उपेक्षा गरिएको भन्दै आक्रोशित बनेका उनीहरुले तालाबन्दी गरेका थिए। तालाबन्दीका कारण बेतना सामुदायिक वन समुहलाई यसबिचमा लाखौँ घाटा समेत भएको छ । कार्यलय र टिकट काउण्टरमा ताला लगाईएको छ ।
तस्बीर – पूर्बेली न्यूज ।
बेलबारी ४ मा रहेको बेतना सिमसारमा स्थानीय वडाबासीको स्वामित्वको माग समेत स्थानीयले गरेका छन् । बेतना सिमसारलाई बेलबारीका ११ वटै वडामा सदस्य बनाएर राजनीतिक दलहरुले राजनीतिक क्रिडास्थल बनाएको र स्थानीयहरुलाई उपेक्षा गरिएको उनीहरुको आरोप छ ।
बेतना सिमसारको नेतृत्व समेत राजनीतिक भागबण्डाका आधारमा हुने गरेको र बेतना सिमसार लथालिंग बन्दा समेत राजनीतिक दलहरुले यस्लाई क्रिडास्थल बनाएको उनीहरुको आरोप छ ।
स्थानीय मनिकुमार लिम्बुको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर स्थानीयले तालाबन्दी सहित संघर्षका कार्यक्रम अघि सारेका छन् । आफुहरु माथि पटक पटक धोका भएको भन्दै लिम्बुले अब राजनीतिक दलसँग कुनै बार्ता नहुने र आफुहरुको माग पुरा नभएसम्म तालाबन्दी जारी रहने बताए ।राजनीतिक भागबण्डा नमिल्दा बेतना सिमसारका ९ बर्षदेखि साधारणसभा समेत हुन सकेको छैन । ब्यवस्थापन अभावमा पानीको मुहान सुक्दै गएको र आसपासका सयौँ बिगाहा जमिन बाझै हुंदा समेत दलहरुले यस्लाई निकास दिन नसकेको उनीहरुको आरोप छ ।
Discussion about this post