इलाम । कोशी प्रदेशमा सरकार बन्ने र ढल्नेक्रम चलिरहेका बेला ‘विद्रोह’ गरी बनेको छैटौं मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको प्रतिस्थापन बजेटमा पर्यटकीय स्थल इलामको अन्तुमा पाँच करोडको शौचालय निर्माण गर्न बजेट विनियोजन भएको विषयले चर्चा पाएको छ ।
इलामको १ ९२०निर्वाचन क्षेत्रबाट निर्वाचित कांग्रेसका सांसद तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले उक्त बजेट विनियोजन गरिएको भनिए पनि राईले आफूले शौचालयका लागि मात्र पाँच करोड विनियोजन नगरेको स्पष्ट पारेका छन् ।
‘अन्तुमा सुविधा सम्पन्न शौचालय अति आवश्यक थियो । हामीले यस बर्ष ५० लाख विनियोजन गर्ने प्रस्ताव गरेका हौं । तर बजेटमा काम गरिरहनुभएका कर्मचारी साथीहरुलाई केन्द्रीय सरकारका एक मन्त्रीले शौचालयमा बजेट थप्न दबाब दिनुभएछ । पछि बजेटको अन्तिम रुप सार्वजनिक भएर आउँदा मात्र थाहा पाएका हौं । यसमा सच्याउन आवश्यक छ,’ मन्त्री राईले भने ।
सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को पारित नीति तथा कार्यक्रम र बजेटको सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन इलाम पुगेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अन्तुमा ‘सुगन्धित र सुविधा सम्पन्न’ शौचालय आवश्यक रहेको र बजेट विनियोजन गर्ने बचन दिएका थिए । किराँतीकै दबाबमा ५० लाखमा शुन्य थपेर पाँच करोड बनाउन निर्देशन दिएको बुझिएको छ ।
नगरको बजेट सार्वजनिकीकरण कार्यक्रममा मन्त्री किराँतीले भनेका छन्,‘शौचालय यस्तो होस देश विदेशबाट घुम्न आउनेले पनि आहा कस्तो राम्रो शौचालय बनाएछ भनोस । त्यहाँभित्र राष्ट्रिय गीतहरु बजोस, त्यहाँभित्र मगमग बासना आयोस र चारैतिर घुमीघुमी हेर्न मिल्ने ऐनाहरु होस भन्ने हो । तर पानी खोल्दा उछिट्टिएर मुखमा पानी पस्ने ट्वाइलेट नबनाऔं,’ उनले अगाडि भनेका छन्,‘शौचालयमा पस्दा सुगन्ध होस । निस्कन मन नलागोस । शौच गर्न पनि विर्सियोस । गाउँमा गएर कथा भनोस । त्यस्तो किसिमको ट्वाइलेट बनाउन एकडेढ करोड छुट्याउन तयार छु । आँखा थुन्ने ट्वाइलेट बनाउन म तयार छैन ।’
कार्यक्रमपछि मन्त्री किराँती अन्तुको अवलोकन र निरीक्षण गर्न जाँदा पनि शौचालयका लागि बजेट विनियोजन गर्ने बचन दिएका थिए । किराँतीले पर्यटनको प्रबल सम्भावना रहेको अन्तु क्षेत्रमा सदावहार पर्यटकहरु आइरहरने वातावरण बनाउन सबै क्षेत्र लाग्नुपर्ने बताएका थिए । भ्रमणका क्रममा इलाम गएका बेला दिएको बचन पुरा गर्न किराँतीले कोशीका कर्मचारीहरुलाई दबाब दिएर बजेटको रकम थप्न दबाब दिएको थियो ।
मंसिरको दोस्रो साता कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गर्दै बजेट सार्वजनिक गरेको थियो । ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको थियो ।
Discussion about this post