झापा । विगात ६ दशकदेखि झापामा रहेर नेपाली भाष र साहित्यको निरन्तर सेवा गरिरहेका अग्रज पत्रकार तथा लेखक नकुल काजी सम्मानित भएका छन् ।
भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई स्रष्टा सम्मानबाट सम्मानित गरेको हो ।
हास्यव्यंग्य विषयक विचार गोष्ठी तथा हास्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा साहित्यका स्रष्ठा काजीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख गंगाप्रसाद अधिकारीको अध्यक्षता तथा क्याम्पस प्रमुख जीवन पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेची क्याम्पसका पूर्व सहप्राध्यापक चुडामणि वशिष्ठले हास्यव्यंग्य सिर्जनाका सीप र शैली विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली हाँस्यव्यंग्य लेखनको विगतदेखि वर्तमानसम्मको अवस्था बारेमा जानकारी गराएका थिए ।
यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहप्राध्यापक तथा हास्यव्यंग्यकार होमनाथ सुवेदीले समय क्रम अनुसार हास्यव्यंग्य सिर्जनामा परिमार्जन हुनु पर्ने धारणा राखेका थिए ।
तारा विविधले सम्मानित स्रष्टा काजीको बारेमा प्रकाश पारेको कार्यक्रम लक्ष्मी पौडेलले सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा झापाका विभिन्न हाँस्यव्यंग्य कवि कवयत्रीले हास्यव्यंग्य कविता प्रस्तुत गर्दै वर्तमान नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकृतिमाथि प्रहार गरेका थिए ।
Discussion about this post